• समाचार
  • चलचित्र
    • कलिउड
    • शैली समिक्षा
    • विश्व सिनेमा
  • भिडियो
  • फोटो ग्यालरी
  • गीत/सङ्गीत
  • न्यू मिडिया
  • अन्तरवार्ता
  • मनोरन्जन
    • रंगमञ्च
    • सूचना प्रविधि
    • सौन्दर्य-फेसन
    • शैली गसिप
×
☰
    • समाचार
    • चलचित्र
      • कलिउड
      • शैली समिक्षा
      • विश्व सिनेमा
    • भिडियो
    • फोटो ग्यालरी
    • गीत/सङ्गीत
    • न्यू मिडिया
    • अन्तरवार्ता
    • मनोरन्जन
      • रंगमञ्च
      • सूचना प्रविधि
      • सौन्दर्य-फेसन
      • शैली गसिप

कहाँ चुक्यो महाभोज ? निर्माणमा कि प्रदर्शनमा ?

  •  कलाशैली संवाददाता
  • २०८२ असार ४, बुधबार २१:४२ प्रकाशित
    Advertisement
    Advertisement
    • अ-
    • अ
    • अ+

    कलाशैली संवाददाता । राम्रो फिल्म बनाउन के के तत्व नभई हुँदैन ? अथवा, कुन जनराका फिल्म बनाए ‘स्योर सट हिट’ हुन्छ ? कुन कलाकार वा कति स्टार कास्ट भए फिल्मको ‘बज’ ह्वात्तै माथि पुग्छ र लगानी उठाउन उक्त फिल्मले दुःख नै गर्नुपर्दैन ? रुवाउन सक्यो भने चल्ने हो कि हसाउँदा ? एक्सन फिल्मले पैसा छाप्ने हो की अर्गानिक फिल्म बनाए नाम र दाम दुवै हुने हो ? आखिर के ले फिल्म चल्छ ? कथा कि पटकथा ? कलाकार की स्टार ? पब्लिसिटी कि फन्डा ?

    नेपाली फिल्मकर्मी यतिबेला पुनः रनभुल्लमा छन् । के गर्दा फिल्म चल्छ भनेर त्यसको उपाय खोज्न धम्मरधुस लागिरहेका छन् । जे जसो गर्दा पनि पछिल्लो समय नेपाली फिल्मले सफलता पाउन नसकेपछि एकखाले निराशा बजारले निम्त्याएको छ । जबकी पछिल्लो समय सर्वाधिक नेपाली फिल्मले निर्माण इजाजत लिएको तथ्यांक आईरहेका छन् । ‘पूर्णबहादुरको सारंगी’ को रेकर्डतोड कमाईपछि हौसिएका निर्माता, निर्देशक त्यसयताका अधिकांश फिल्म लगालग असफल हुन थालेपछि बिलखबन्दमा परेका छन् ।

    कुरा ‘महाभोज’ को । यसअघि ‘प्रसाद’, ‘प्रकाश’, ‘पूजार सार्की’ जस्ता सामाजिक यथार्थपरक फिल्म बनाएर आफुलाई बारम्बार प्रमाणित गरिसकेका निर्देशक दिनेश राउतको अर्को कमान्ड थियो, ‘महाभोज’ । फिल्मप्रतिको अपेक्षा यत्तिमै बढिसकेको थियो । अझ ‘प्रकाश’ र ‘पूजार सार्की’ कै लेखक विकास सुवेदी नै लेखनमा ‘महाभोज’ मा पनि दिनेशसँग ह्याट्रिक सहकार्यमा थिए ।

    त्यसपछि जोडिए, कलाकार । ‘पूजार सार्की’ कै आर्यन सिग्देललाई दिनेशले पुनः दोहो¥याए भने खगेन्द्र लामिछाने र दयाहाङ राईलाई पनि ‘महाभोज’ मा सरिक गराए । बोनसमा अभिनेत्रीहरु थिए, अञ्जना बराइलीदेखि गौमाया गुरुङ र मलिका महतसम्म । गीतबाट जोडिएका थिए, निश्चल बस्नेत पनि ।

    अनि विषयबस्तु थियो, राष्ट्रिय मुद्दा बोकेको सहकारी बचत अपचलन । तैपनि जेठ ३० देखि प्रदर्शनमा आएको ‘महाभोज’ ले अपेक्षित दर्शक पाउन सकेन । हुन त फिल्म लागेको एक सातापनि पुगेको छैन, तर पिकअप लिने समय पनि लगभग घर्किसकेको छ । त्यस्तै उत्पात केही नभई फिल्मलाई व्यवसायिक सफलता हात पार्नु सहज हुनेछैन ।

    शसक्त मानिएको फिल्म ‘महाभोज’ अपेक्षाकृत चल्न किन सकेन ? पहिलो कारण त, फिल्म पूर्ववतः रिलिज डेट जेठ १५ मा आउन सकेन । अग्रीम टिकट काटिसकेका दर्शकले वा बिहिबार बिहानै बक्सअफिसमा नै गएर टिकट काट्ने योजनामा रहेका दर्शकलाई बुधबार साँझ ‘महाभोज’ को रिलिज स्थगितको खबरले मनस्थिती बिगारिदियो । एउटा दर्शकको लागि हलमा गएर फिल्म हेर्न रकम र समयको जोहो त गर्नैपर्छ, उक्त समयमा आईपर्ने कतिपय काम र योजनालाई पनि थाँती राख्नुपर्ने हुन्छ । सारा छोडेर फिल्मकै लागि मुड बनाइसकेपछि फिल्मको प्रदर्शन रोकिन्छ भने त्यसले पहिलो गाँसमा नै दाँतमा ढुंगा लाग्छ । दुई सातापछि फिल्म हलमा आयो, तर दर्शकले के सोचे ? खै आएनन् ।

    कहिं कतै सहकारी बचत रकम अपचलनको मुद्दा राष्ट्रिय राजनीतिको केन्द्रमा घुमिरहेको भएपनि त्यसले आम दर्शकमा खासै ठूलो नपारेको पो हो की भन्ने पनि देखियो । केही सहकारीमा भएको बदमासीले देशभरका सहकारी बचतकर्तालाई नै समेट्छ भन्ने हैन । र, यो विषयमा एकातर्फ बचतकर्ता पीडित बनेका छन् भने अर्कोतर्फ जनतामाझ नेताका रुपमा उदाएका रवि लामिछाने यही मुद्दाको अभियोगमा थुनामा छन् । फिल्मले सहकारीको विषय उठान त गरेको छ तर यो पेचिलो मुद्दामा आफ्नो खास ठूलो राय केही दिएको छैन । बरु सहकारी सञ्चालक पनि आफैंमा पीडित छन् भन्ने जस्तो भाष्य तयार पारेर उही नेतातर्फ नै प्रश्न तेस्र्याइएको छ । अर्कोतर्फ, फिल्मको क्लाइमेक्सलाई माओवादी छापामार शैलीमा प्रस्तुत गरिएको छ । जबकी फिल्मले राजनीतिक धार मात्रै नसमातेर कानूनी लडाइको प्रसंगलाई पनि कहिं कतै कोट्याएको भए विषयबस्तुले बढि न्याय पाउँथ्यो की ?

    अभिनयका दृष्टिमा कलाकार र पात्रमा ढाल्ने सवालमा निर्देशक राउत सफल छन् । कास्कीको भुजुङ गाउँमा खिचिएको फिल्मका दृश्य केवल हिमाली श्रृंखलाले मात्र वाह लाग्ने छैनन्, गाउँका दृश्यलाई पनि यति सजिब ढंगले खिचिएको छ, साँच्चै रमाइलो लाग्छ, हराभरा लाग्छ । चहलपहल देखिन्छ । तर फिल्मको घटनाक्रम बक्ररेखामा नबगी सीधा रेखामा सरल तरीकाले बग्दा दर्शक फिल्मका घटनाका साक्षी मात्र बन्छन्, सोही दृश्यसँग बग्न सक्दैनन् ।

    ‘महाभोज’ को ठूलो समस्या भनेको यसका पात्र हुन् । पात्र कमजोर हुँदा त्यसले ‘मिसकास्ट’ लाई पनि उदांगो पारिदिएको छ । सहकारी बचत अपचलनको मुद्दाको पहिलो पीडित पक्ष भनेका बचतकर्ता नै हुन् र उनिहरुका लागि ठग भनेका सहकारी संचालक नै हुन्, अहिलेका लागि । गास काटेर जोगाएको पैसा बुढेसकालमा वा केही ठूलो व्यवसायका लागि पछि चाहिन्छ भनेर जसलाई रकम बुझाएको हो, उसैले दिन सक्दैन भने बचतकर्ताका लागि त सहकारी संचालक नै भिलेन हुन् । तर ‘महाभोज’ मा बचतकर्तालाई सहायक पात्रमा सीमित गरिएको छ । जबकी मुद्दाका हिसाबले उनीहरु मुख्य चरित्रमा हुँदा दर्शकले पात्र र कथालाई बढि अपनत्व गर्न पाउँथे । जबकी सहकारी संचालकको भूमिका दयाहाङ राईलाई दिएर फिल्मको केन्द्रमा उनकै दृष्टिकोणबाट कथा भनिएको छ ।

    ‘पशुपतिप्रसाद’ मा दर्शकमाझ आफ्नो प्यारो छवी बनाएका खगेन्द्र लामिछाने पनि फिल्ममा मिसकास्ट लाग्छन् । परिस्थितीले दिने भूमिका एउटा हो तर उनी पत्निको करकापमा बाउसँग पैसा माग्न आउनुबाहेक ठूलो भूमिका उनको देखिदैन । या भनौं, उनले काम देखाउने गरी पात्रको दायरा र लक्ष्य नै पाएका छैनन् । अझ उनकी पत्नि बनेकी अञ्जनाको त बेलाबखत चर्को स्वर गर्नुमा बाहेक उल्लेख्य भूमिका खास देखिदैन । केही हदसम्म दया र गौमायाले दर्शकलाई भावनात्मक डोरीले बाध्ने भरथेग प्रयास भएको छ ।

    ‘महाभोज’ ले निर्मातालाई ठूलो रकम नाफा दिलाउन नसकोस् तर यत्तिको फिल्म बनाउँदा फिल्म क्षेत्रबाट एक तहको प्रशंसा र दर्शकले फिल्म हेरिदिएर सुख्खा विषयमा मोलिएको करोडौंको जोखिम र मिहिनेतमा ढाडस दिन सक्नुपर्ने हो । कमजोरी नै भएपनि सामाजिक कथाबस्तुमा कसैले फिल्म बनाउन आँट गर्छ भने उसलाई काँधमा धाप मारिदिनुपर्ने हो । तर फिल्म रिलिजको दुई दिन नहुँदै ‘महाभोज’ को घाँटी थिचिइसकेको छ ।

    र, शुरुकै प्रश्नमा फर्कियौं । अब फिल्म के हुँदा चल्छ त ? स्टारकास्ट हुँदैमा फिल्म चल्दैन भन्ने त लगालग रिलिज भएका ‘के घर के डेरा : २’ र ‘महाभोज’ ले पनि जनाउ दिईसके । आजका दर्शक केवल हिरो वा हिरोइनको मुख हेर्नकै लागि मात्रै फिल्म हलभित्र छिर्नुपर्ने बाध्यता आज छैन । त्यसैले आजका दर्शक फिल्ममा फिल्मकै तत्व खोज्ने भइसके । फिल्मको कथाले कत्तिको आफुलाई छुन्छ र त्यसका पात्रलाई कत्तिको आत्मसात् गर्न सकिन्छ ? दर्शकले त्यही खोज्छ । यदि गतिलो कथावस्तु, चुस्त कथावाचन र जीवन्त पात्र बनाउन सकियो भने जुनसुकै जनराका जो सुकै कलाकार लिएर बनाएका फिल्मले पनि दर्शकको मन जित्न सक्छन् । आखिर दर्शकको मन जित्यो भने अर्को ‘पूर्णबहादुरको सारंगी’ हुन कति टाढाको कुरा हो र ?

    Post Views: 253
    • Aaryan Sigdel
    • Dayahang Rai
    • Dinesh Raut
    • Kala Saili
    • Kala Saili News
    • Kala Saili Review
    • Khagendra Lamichhane
    • Mahabhoj
    प्रकाशित मिति: २०८२ असार ४, बुधबार २१:४२
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    शैली समीक्षा : झोलमा चोक्टा खोज्नुपर्ने भोज जस्तै ‘जन्ते बाख्रो’
    ‘फाइनल डेस्टिनेसन: ब्लडलाइन्स’ : मर्नकै निमित्त जन्म !
    शैली समीक्षा : उही शैली र प्रस्तुतीकरण
    ताजा अपडेट
    • १. महेश र अस्मिताको ‘सोलफुल यु.एस.ए यात्रा’ घोषणा

    • २. ‘त्यो मिठो जोवन’ भन्दै नाचे वर्षा र केदार

    • ३. ‘कोशेढुंगा’ को छायांकन सम्पन्न

    • ४. विल्सनको निर्देशनमा फिल्म ‘मैझारो’ बन्ने, धीरज अनुबन्धित

    • ५. ‘झुम झुम झुम्किका’ मा पल र बेनिशा

    चर्चित
    • १. नृत्य मञ्चदेखि सगरमाथासम्म छिरिङ (फोटोफिचर)

    • २. सज्जनको ‘बेहुली’ बनिन् दिव्या

    • ३. चलचित्रलाई संस्कृति मन्त्रालय अन्तर्गत राख्न र सेन्सरकाे सट्टा प्रमाणीकरण गर्न माग

    • ४. ‘भाइटीका’ मा विपिन ‘दाइ’ बन्ने, पारिश्रमिक छोडेर मुनाफाकाे शेयरमा

    • ५. ‘माग्ने राजा’ मा यसकारण माग्नेको लवज र थेगो प्रयोग गरियो

    हाम्रो बारेमा

    कम्पनी नम्बर : ०२१२ [२०७९]
    सूचना विभाग : ००१० [२०७९/०८०]
    प्रेस काउन्सिल : ००११ [२०७९/०८०]

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : अनामनगर, काठमाडौं, नेपाल
    Email : info@kalasaili.com

    हाम्रो टीम

    सम्पादक/सञ्चालक :
    प्रबन्ध निर्देशक :
    बजार प्रबन्धक :
    सल्लाहकार :
    समाचार संयोजक :

    सामाजिक संजाल

    © 2025 Kalasaili . All Rights Reserved.