कलाशैली संवाददाता । गत शुक्रबारदेखि नेपाली फिल्म ‘जन्ते बाख्रो’ हलमा लागिरहेको छ । ट्रेलर सार्वजनिक भईसकेपछि यस फिल्मको ‘बज’ ह्वात्तै बढेको थियो । एक त, फिल्मको नाम नै विशुद्ध रैथाने स्वादको लाग्छ नै, त्यसमा पनि हास्यरसमा ग्रामीण भेगका पात्रबीचको बिहेका लागि भईरहेको कथानकताले गर्दा ‘जन्ते बाख्रो’ लाई अर्गानिक मानिएको थियो । बिहेपछि बेहुली लिएर बेहुलाको घर फर्कंदै गर्दा बाटोमा खाइने खाजा वा भोजलाई जन्तेबाख्रो भनेर बुझिन्छ । पहिले पहिले गाउँघरमा टाढा टाढासम्म हिंडेरै जन्ती जाने चलन थियो । यस्तोमा एकैदिनमा बेहुलाले बिहे गरेर बेहुली घरमा भित्राउन समय पुग्दैनथ्यो । जन्ती फर्किंदा एक रात बास बस्नुपर्ने हुन्थ्यो । त्यस्तोमा बेहुली पक्षबाट खसी, बोका साथैमा दिएर जन्ती अन्माउने गरिन्थ्यो ।
‘जन्ते बाख्रो’ को कथातर्फ लागौं । माछापुच्छ्रेको काखमा रहेको एक पश्चिमी गाउँमा कमलका आमा छोरा बस्छन् । वृद्धसँगै असक्त भईसकेकी आमा कमले (सौगात मल्ल) को छिटो बिहे होस् भन्ने चाहन्छिन् । बिहेका लागि उनले घरमा खसीबोकाको जुगाड पनि गरिसकेकी छन् । कमले पनि चाहन्छ, घर खाने र आमालाई हेरचाह गर्ने संस्कारी बुहारी होस् । भन्छ, ‘खोट भएकी राम्री केटी भन्दा चोट खाएकी असल केटी भए हुन्छ ।’ गाउँकै लमी पाँडे (कमल देवकोटा) कमलेलाई बिहेका लागि केटी देखाउँदा देखाउँदा हत्तु भईसक्यो, कुनै रुचाउँदैन ।
एकदिन सम्झना (गरिमा शर्मा) बुबासहित कमलेकै गाउँमा आईपुग्छे । चोट खाएर आएकी जस्ती लाग्ने सम्झनालाई भने कमलेले एक झमटमा नै मन पराउँछ तर भन्न सक्दैन । बरु माया व्यक्त गर्ने घुमाउरो बाटो अपनाउँछ । सम्झनाको मनमा बास बस्नका लागि कमले उनकै घरमा हली बस्छ । सम्झनाको बाउ पनि जतिसक्दो छिटो छोरीको बिहे गरेरै पठाउन हरारिएको हुन्छ । यस्तोमा सम्झनाले पनि कमलेलाई बिस्तारै मन पराउँदै जान्छे ।
फिल्मको दोस्रो भागमा हरि (आशिफ साह) को प्रवेश हुन्छ । फ्ल्यासब्याकमा भनिएको कथामा हरि सानैदेखि पुल्पुलिएको धनी बाउको छोरो हुन्छ । केही कुरा राम्रो लागेपछि तुरुन्तै चाहिने खालको, अड्डि कस्ने घमन्डी खालको । नपाए मर्दिन्छु भनेर धम्की दिने जन्ड । हरिले पहिल्यै सम्झनालाई मन पराएको हुन्छ । तर घरका मान्दैनन् । यस्तोमा हरि सम्झना नपाए झुन्डिएर मर्दिन्छु भन्दै काँधमा पासो बोकेर हिंड्छ तर मरिहालेको भने हुँदैन । मन परेको कुरा तत्काल नपाए मर्न हिंडिहाल्ने स्वभावको ऊ किन हो, सम्झनाको हकमा भने तुरुन्तै चाहियो भनेर अड्डी कस्दैन, बरु (कथालाई सजिलो बनाउनका लागि होला) सम्झनालाई बिहे नगर्दासम्म पासो बोकेरै हिंड्ने मनस्थितीमा मात्र रहन्छ । जबकी सम्झनाले पनि हरिलाई मन पराएकी नै हुन्छे । तर दुवै परिवारका भने यो बिहे हुन नदिने पक्षमा छन्, पर्याप्त र चित्तबुझ्दो ठूलो कुनै कारणबीन ।
यस्तो मापाको केटा पछि लागेपछि नै हो, सम्झनाको बाउ रातारात छोरीसँगै गाउँ छोडेर भाग्दै कमलेको गाउँमा आएको । भगाउनका लागि स्वयं सम्झनाको बाउले पनि सघाएको छ । यता, सम्झनासँगे कमलेको बिहे होला होला जस्तो हुँदा भिलेन बन्न आईपुग्छन्, कुनैबेला कमलेले बिहे गर्न अस्वीकार गरिदिएका तीन केटी । आफु अपमानित ढंगले अस्वीकृत हुनु परेको पीडालाई बदलामा बदल्न ती केटीहरु कुनै पनि हालतमा कमलेको बिहे हुन नदिने षडयन्त्रमा लाग्छन् । सम्झना र कमलेको बिहेमा केटीहरुले अवरोध हालिरहेकै बेला थपिन्छ, हरि पनि । पहिलेको प्रेमी र हाल बिहे गर्ने मनस्थिती बनाईसकेकी कमलेमा कसलाई रोज्ने, कसलाई छोड्ने भन्ने सम्झनाका दोधारका बीच ‘जन्ते बाख्रो’ ले नयाँ नयाँ घुम्ती पार गर्दै अघि बढ्छ ।
‘जन्ते बाख्रो’ को कथा केही नयाँ र बढि रोचक लाग्छ । गाउँघरबाट हराईसकेको जन्ते बाख्रोको थिममा फिल्मलाई कमेडी शैलीका संवाद भरेर मसलेदार बनाउने प्रयास गरेका छन्, निर्देशक सिमोस सुनुवारले । हिमाली श्रृंखला देखिने पृष्ठभूमीमा रमणीय गाउँमा छायांकन गरिएको फिल्मको गीत, संगीत श्रुतीमधुर छन् । पाश्र्व संगीतले पात्रको मुड अनुसार फिल्मलाई अघि बढाउन सफल पनि देखिन्छ । हरि हुमागाईंको छायांकनमा खोट लगाउने ठाउँ छैन । हिउँ सकिएका नांगा हिमालले भने उनको फ्रेमलाई फिक्का बनाउन सक्छन्, त्यो फरक पाटो हो ।
निर्देशक सुनुवारले पात्रहरुलाई ‘लाउड’ शैलीमा प्रस्तुत गरेका छन् । खासगरी सहायक पात्रहरुको लाउड प्रस्तुती दर्शकलाई बढि बिझ्न सक्छ । जबकी स्वभावतः लाउड हुनुपर्ने हरिको अभिनय भने लाउड र कमेडीको भूमरीमा कन्फ्यूज्ड लाग्छ । चरित्र चित्रण र सो अनुसारको कथाको ट्रिटमेन्टमा भने लेखक प्रदीप भारद्वाजले अझ बढि मिहिनेत गरिदिएको भए हुन्थ्यो की भन्ने लाग्न सक्छ । फिल्ममा यसका केही कारण देखिन्छन्, जसले थोरबहुत किरकिर पार्न सक्छ वा दर्शकको मनमा प्रश्न उठ्न सक्छ ।
जस्तो, हरि सानैदेखि आफुलाई मन परेको चीज तत्काल खोज्ने चरित्रको छ । उसलाई त्यो उपयुक्त होस्, नहोस् चाहियो भनेपछि चाहियो । सानै हुँदा नै उसले मोटरसाइकल मन पराएर बाउलाई जबरजस्ती तत्क्षण किनाईमाग्छ । जबकी उसले न चलाउन सक्ने हो, न त बाउले नै मोटरसाइकल चलाएर उसलाई बसाएर घुमाउन लैजाने हो । यस्तो पात्र ठूलो भएपछि सम्झनाका लागि देवदास बनेर हिंड्नु उसको चरित्र अनुसार विरोधाभास लाग्छ । त्यो पात्र, आत्मकेन्द्रित हो, घमन्डी हो, तर पागल प्रेमी कसरी हुन पुग्यो ? यसको कुनै प्रष्ट जवाफ फिल्मका दृश्यले बोल्दैनन् ।
उता, गाउँमा राम्रै रवाफ भएको र सम्पन्न नै लाग्ने कमले एकाएक सम्झनाको घरमा हली बस्नुसम्मको उसको उद्देश्य ठीकै छ, सम्झनालाई पाउनु । किनभने सम्झनाले नै भनेको सुनेको हुन्छ, बाउ मेरो बिहे गराईदिएनौं भने बरु हलीसँगै पोइला हिंड्दिन्छु । सोझो पात्र कमले आफैं हली बनेर केटीको घरमा गएको हुन्छ । त्यसबेला हलीको चरित्रमा उसले सम्झना र उनको बाउलाई गर्ने सम्मान र भन्ने सम्बोधन आदरार्थी हुनु जायज होला, तर जब हली बन्नु कमलेको नाटक हो भन्ने सबैले बुझिसकेपछि उसको त्यो चरित्रको यसै अन्त्य भईसकेको थियो, तर पनि पछिसम्मै कमलेले हलीकै व्यहोरा देखाउनु र आफैंले मन पराएकी केटीलाई मेमसाहेब सम्बोधन गर्नु खास हजम लाग्दैन ।
फिल्मको पटकथालाई थप चुस्त बनाउन सक्नुपर्ने थियो । पहिलो भागको कन्फूजिंग बनाउन खोजिएको एलिमेन्टलाई केही बढि तन्काउँदा दर्शकले पहिल्यै मेसो पाईसक्ने जोखिम ठूलो छ । दोस्रो भागमा आईपुग्दा फिल्मले तय गर्ने आरोह अवरोहका घटनाक्रम जबरजस्ती थोपरिएका वा बढी नाटकीय लाग्न सक्छन् । त्यसो त फिल्मलाई लाउड टेक्सचरमा प्रस्तुत गरिएकाले आम दर्शकले त्यसलाई हाँसोकै रुपमा पचाईदिन पनि सक्छन्, तर लेखक वा निर्देशकका नाताले त्यसलाई पनि केही स्वभाविक र तार्किक बनाउन थोरै कसरत गरेको भए सुनमा सुगन्ध हुन सक्ने थियो ।
टिकटकमा छोटा भिडियो हालैकै भरमा भाइरल बनेकी गरिमा शर्माले यसअघि फिल्ममा सहायक भुमिका पाएकी भएपनि ‘जन्ते बाख्रो’ मा भने लीड रोल नै पाएकी छन्, त्यो पनि सौगात मल्ल जस्ता अभिनयका हस्ती मानिने कलाकारसँग स्क्रिन शेयर गर्न पाउनु उनका लागि ठूलै अवसर हो । दुई नायककी एक्ली नायिका बनाइएकी उनलाई निर्देशकले जति ठूलो विश्वासका साथ सम्झनाको चरित्रमा लिए, त्यसअनुरुप गरिमा चरित्रमा शत प्रतिशत फिट हुन सकेकी छैनन् ।
प्रयास निकै गरेकी छन्, तर भरखर हुर्कंदै गरेको कलाकारलाई ठूलो भारी बोकाईहाल्दा जोखिम आउन सक्ने हेक्का निर्देशकले बेलैमा राखेको भए ! खैर, कहिलेकाहीं नयाँ कलाकारले नै पनि अब्बल काम गर्न नसक्ने भन्ने हैन, तर गरिमाको हकमा त्यसो हुन भने सकेन । त्यसैगरी उनको चरित्र पनि ढुलमुलको छ । उनको दुई नायकसँगको प्रेमको मनस्थिती परिस्कृत छैन, न हरिसँग, न त कमलेसँग नै । लाग्छ, दुवैमा उनको वैंशजन्य आकर्षण मात्रै हो । मनदेखि घनघोर माया गरेको नदेखाईदा छुट्टिनु पर्ने तनावमा पनि दर्शकलाई त्यसले वेचैनी बनाउन सक्दैन ।
समग्रमा, ‘जन्ते बाख्रो’ केही नयाँ र जोशिलो कथालाई सामान्य र जस्टिफाइ नगरी बुनिएको पटकथामा लाउड कमेडीमा तयार पारिएको आम दर्शकलाई च्वाँस्स स्वाद दिन सक्ने फिल्म हो । जसरी जन्ते बाख्रोको भोजमा पीरो झोल नै झोल मात्रै भएको टपरीमा एक चोक्टा मासु भेटिंदा पनि जन्तीमा अमनचयन आउँछ, त्यसैगरी ‘जन्ते बाख्रो’ पनि विविध कमजोरी (झोल) भएपनि भेटिने एक चोक्टा कथाले नै पनि दर्शकलाई धार्जे पार्न पनि सक्छ । तर क्लास फिल्म हेर्न रुचाउने दर्शकले भने पहिल्यै ठूलो अपेक्षा नराखी हेर्नपर्ने हुन सक्छ