कलाशैली संवाददाता । कम उमेरमै हरिहर अधिकारीले आफुलाई फिल्मको हिरो, निर्मातादेखि ज्योतिषीसम्मको परिचयमा स्थापित गराईसकेका छन् । तर उमेर कच्चा, सोच बच्चा भयो भने त्यही परिचय कहिलेकाहीं आफैंलाई घाँडो भईदिन्छ । यतिबेला हरिहरलाई आफ्नो भविष्यवाणी निल्नु न ओकल्नु भएको छ ।
शुक्रबार मात्रै हरिहरले मौसम विज्ञान विभागले गरेको भीषण वर्षाको पूर्वानुमानलाई हाँक दिंदै ठूलो पानी नपर्ने र क्षति पनि नहुने हाँक दिएका थिए । मौसम विभागले शुक्रबारदेखि नै आरीघोप्टे बर्षा हुनसक्ने भन्दै सर्वसाधारणलाई लामो यात्रामा ननिस्कन र सुरक्षित हुन सचेत गराएको थियो । तर, शुक्रबार दिनभर वर्षा नभएपछि सामाजिक सञ्जालमा मौसम विभागको पूर्वानुमानलाई लिएर निकै उडाइयो । यही मौकामा चौका हान्न खोजे, हरिहरले पनि ।
‘मौसम विभागले भनेअनुसार १७ गतेदेखि २० गतेसम्म भारी वर्षा हुनेछ, तर अझैसम्मको अवस्थालाई हेर्दा मेरो शंका छ कि वर्षा सामान्य मात्र हुनेछ,’ हरिहरले आफ्नो फेसबुकमा स्टाटस लेख्दै शुक्रबार बेलुका भनेका थिए, ‘तर अहिलेसम्म नदेखिएको ठूलो महावर्षा, ठूलो क्षति हुने अवस्था देखिदैन, ढुक्क हुनुहोस् ।’ ज्योतिषी अधिकारी यतिमै रोकिनेवालामा थिएनन् । शुक्रबार दिनभर पानी नपरेपछि उनले विज्ञानमा आधारित मौसम पूर्वानुमानलाई नै ललकार्दै थप उत्साहित हुँदै लेखे, ‘एक जना ज्योतिषीले सामान्य भविष्यवाणी गर्दा भ्रम फैलायो भनेर जेल हालिन्छ । तर यदि आज मौसम विभागले भनेको कुरा भोलि पूरा भएन भने त्यो के फैलाएको हुन्छ ? पूर्णिमा आउँदैछ, त्यसैले कुनै ठूलो अनिष्ट हुँदैन ।’
हो, कहिलेकाहीं मौसम विज्ञान विभागले भनेका कुरा पनि मिल्दैनन्, त्यसैले त पूर्वानुमान भनिन्छ । तर यो हरिहर जीको जस्तो फगत भविष्यवाणी पनि होइन । अधिकारीको भविष्यवाणी त ‘मेरो शंका छ…’ बाट शुरु हुन्छ, त्यहाँ न कुनै आधार छ, न कुनै वैज्ञानिक तथ्य नै । अझ उनै मौसम विभागले भ्रम फैलाएको आशय प्रकट गर्दै जेल हाल्नुपर्ने पाँडेकुरो गर्छन् । अन्ततः शुक्रबार साँझदेखि नै मौसम बदली भई वर्षा हुन थालेपछि भने अधिकारीको ‘ठूलो महावर्षा हुँदैन, ठूलो क्षति हुने अवस्था देखिदैन, ढुक्क हुनुहोस्’ भन्ने स्टाटस नै ढुक्क हुन सकेन । शुक्रबार रातीदेखि अविरल परिरहेको वर्षापछि आखिर उनले आफ्नो स्टाटस नै हटाउन बाध्य भए ।
स्टाटस हटाएर मात्रै धर पाएनन्, अर्को स्टाटसमा क्षमायाचना माग्न बाध्य भए । ‘मौसम सम्बन्धी हिजो लेखिएको कुराप्रति क्षमाप्रार्थि छु’ भन्दै शनिबार स्टाटस आएपछि भने धेरैले उनको अघिल्लो स्टाटसको खोजी गरे । तर निकै रवाफका साथ दिइएको अधिकारीको भविष्यवाणी त रातभरको बाढीले बगाईदिई सकेको थियो । त्यसैले प्राकृतिक प्रकोपप्रति आफ्नो आधारहीन विद्वता देखाएर सम्बन्धित निकायलाई मजाकको पात्र बनाउने वा सर्वसाधारणमा भ्रम फैलाउने कार्य दण्डनीय त हो नै हरिहर जी, यस्ता एक दिन पनि नटिक्ने भविष्यवाणी गर्न थाल्दा तपाईको ज्योतिषशास्त्रबाट भईरहेको थोरबहुत आयआर्जनमा समेत क्षति पुग्न सक्छ है, परिपक्व बन्नुस् । आखिर तपाईले दुनियाँको भविष्य हेरेर कमाएको पुँजीले फिल्म नै बनाउनु हुन्छ, नेपाली फिल्म क्षेत्रलाई पनि गुन लगाउनु भएकै छ । त्यसैले आफ्नै फिल्मको भविष्य हेर्न नजानेको ज्योतिषी भनेर सानो सर्कलमा बदनाम हुनु परेकै थियो, यसलाई जनस्तरमा नबढाउनु होला ।





