कलाशैली संवाददाता । अभिनेता परेश रावल फिल्म ‘हेरा फेरी ३’ मा फर्किएसँगै यसको निर्माण कार्य सुरु हुने भएको छ । परेश स्वयंले हालै एक पोडकास्टमा यो कुराको पुष्टि गरेका हुन् । यसअघि उनी फिल्मबाट बाहिरिएपछि सम्पूर्ण काम रोकिएको थियो, जसले गर्दा फिल्मको भविष्य अन्योलमा परेको थियो । परेश रावलले हिमांशू मेहताको पोडकास्टमा आफू र फिल्मको टिमबीच कुनै विवाद नरहेको स्पष्ट पारेका छन् ।
उनले भने, ‘मलाई लाग्छ जब मानिसहरूलाई कुनै कुरा यति धेरै मन पर्छ, तब तपाईं थप सावधान र गम्भीर हुनुपर्छ । दर्शकहरूप्रति हाम्रो केही जिम्मेवारीहरू छन् । दर्शकहरूले धेरै मन पराएका छन् भने तपाईंले चीजहरूलाई हल्का रूपमा लिनु हुँदैन । अझ मेहनत गरेर दर्शकहरूलाई आफ्नो हक दिनुपर्छ ।’
परेशले ‘हेरा फेरी’ को टिम एकदमै रचनात्मक रहेको र यसैले आफू फेरि फिल्ममा जोडिन तयार भएको बताएका छन् । फिल्ममा परेशले चर्चित पात्र बाबू राव गणपत राय आप्टेको भूमिका निभाउनेछन् भने अक्षय कुमार र सुनिल सेट्टी पुरानै पात्र राजु र श्याम को भूमिकामा देखिनेछन् । यसको अघिल्ला दुई शृङ्खलामा उनीहरूको केमेस्ट्रीलाई दर्शकले निकै रुचाएका थिए ।
परेशले ‘हेरा फेरी ३’ छाडेपछि यसका निर्मातासमेत रहेका अक्षय कुमारले भारु २५ करोड क्षतिपूर्तिको माग गर्दै उनीविरुद्ध अदालतमा मुद्दा हालेका थिए । अक्षय स्वयंले एक अन्तर्वार्तामा परेशसँग चलिरहेको आफ्नो मुद्दा एकदमै गम्भीर रहेको र त्यो अदालतबाट सुल्झिने बताएका थिए । अन्ततः लामो छलफलपछि परेश फिल्ममा फर्किएका छन् । ‘हेरा फेरी ३’ प्रियदर्शन को निर्देशनमा बन्नेछ ।