कलाशैली संवाददाता । नेपाली गायक एकदेव लिम्बु र बलिउड गायिका नेहा कक्कर को सहकार्यमा तयार भएको हिन्दी संस्करणको गीत ‘झिम झिम’ को म्युजिक भिडियो सार्वजनिक भएको छ। यस गीतमा हिन्दी र नेपाली शब्दको सुन्दर मिश्रण देख्न सकिन्छ, जहाँ नेहाले हिन्दीमा गाएकी छिन् भने एकदेवले आफ्नो विश्वव्यापी हिट नेपाली गीत ‘झिमझिमाउने आँखा’ को नेपाली संस्करणलाई नै निरन्तरता दिएका छन्। यो ‘म्यासअप’ ले दुई भाषा र दुई कलाकारलाई एकसाथ जोड्ने सफल प्रयास गरेको छ।
सार्वजनिक भिडियोमा चर्चित भारतीय कलाकारहरू ऋत्विक साहोर र प्रिया प्रकाश वारिअर ले अभिनय गरेका छन्। भव्य महलमा भइरहेको विवाहको सेटिङमा भिडियो छायांकन गरिएको छ, जसले यसलाई निकै आकर्षक बनाएको छ।
स्मरण रहोस्, ‘झिमझिमाउने आँखा’ एकदेव लिम्बुको विश्वव्यापी रूपमा सफल गीत हो, जुन युट्युब म्युजिकको ग्लोबल ट्रेन्डिङमा समेत समावेश भएको थियो। यो गीत स्पोटिफाईमा भारतका ५० भाइरल गीतको सूचीमा पनि अटाएको थियो। यस गीतको नेपाली संस्करणको भिडियोमा एमटिभी स्प्लिट्सभिल्लाकी प्रतियोगी तथा कलाकार दिकिला शेर्पा ले समेत अभिनय गरेकी थिइन्।