कलाशैली संवाददाता । गायक यश कुमारको नयाँ गीत ‘हल्का हल्का’को म्युजिकल फिल्मको रूपमा तयार पारिएको भिडियो सोमबार राजधानीमा आयोजित एक कार्यक्रममार्फत सार्वजनिक गरिएको छ । कार्यक्रममा वरिष्ठ फिल्म निर्देशक तुलसी घिमिरे प्रमुख अतिथिको रूपमा सहभागी थिए । निर्देशक घिमिरेले गायक यश कुमारको काम गर्ने शैलीबाट आफू प्रभावित भएको बताए ।
उनले भने, ‘म धेरै समयपछि नेपाली फिल्मको निर्देशनमा फर्किंदैछु । यो कार्यक्रममा सहभागी भएर मैले धेरै कुरा सिक्ने अवसर पाएँ ।’ उनले गायिका स्मिता दार्जिलिङको कालेबुङबाट काठमाडौं आएर गायनमा स्थापित भएको देख्दा खुशी लागेको र उनको भविष्य उज्ज्वल रहेको बताए । यश कुमारको शब्द रचना र संगीत रहेको यो गीतको संगीत संयोजन र मिक्सिङ देवेस राईले गरेका छन् ।
भिडियोमा यश र स्मिताले मुख्य भूमिकामा अभिनय गरेका छन् भने राजेज घतानी, दीपेन्द्र सोनम, सुगत करनजीत, तुलसा लिम्बु र सुदीप सोनमको पनि अभिनय छ । भिडियोको निर्देशन यश कुमार स्वयंले गरेका हुन् । चर्चित डिओपी हरि हुमागाईंले खिचेको भिडियोमा विकास धमालाको सम्पादन र रङ्ग संयोजन तथा तुलसा लिम्बुको मेकअप रहेको छ ।





