कलाशैली संवाददाता । भारतीय अभिनेता मुकुल देवको ५४ वर्षको उमेरमा निधन भएको छ । गएराति उनको निधन भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । निधनको कारण भने खुलाइएको छैन ।
मुकुलले सन् १९९६ मा फिल्म ‘दस्तक’ मार्फत बलिउडमा डेब्यु गरेका थिए, जुन अभिनेत्री सुष्मिता सेनको पनि पहिलो फिल्म थियो । उनले ‘सन अफ सरदार’, ‘आर… राजकुमार’, ‘जय हो’, ‘हिम्मतवाला’, ‘इत्तेफाक’ जस्ता चर्चित हिन्दी फिल्महरूमा अभिनय गरे । हिन्दीका अलावा उनले पञ्जाबी, बंगाली र तेलुगु फिल्महरूमा पनि काम गरेका थिए ।
फिल्मसँगै मुकुल टेलिभिजन र वेब सिरिजमा पनि सक्रिय थिए । उनले ‘फियर फ्याक्टर इन्डिया’, ‘२१ सरफरोश – सरागढी १८९७’ र ‘स्टेट अफ सिज: २६/११’ जस्ता कार्यक्रमहरूमा आफ्नो अभिनय कौशल देखाएका थिए । मुकुल अभिनेता राहुल देवका भाइ हुन् । उनको निधनमा सामाजिक सञ्जालमा धेरै कलाकारले श्रद्धाञ्जली व्यक्त गरेका छन् ।





