कलाशैली संवाददाता । निर्देशक सन्दीप रेड्डी वांगाको आगामी फिल्म ‘स्पिरिट’ लाई लिएर बलिउडमा नयाँ बहस सुरु भएको छ । अभिनेत्री दीपिका पादुकोणले फिल्ममा काम गर्न आठ घण्टाको सिफ्ट माग गरेको खबरपछि उनलाई ‘अव्यवसायिक’ भन्दै फिल्मबाट हटाइएको छ । यो विवादले सामाजिक सञ्जाल र फिल्म उद्योगमा तीव्र चर्चा बटुलेको छ ।
काजोलको फिल्म ‘माँ’ को ट्रेलर सार्वजनिक गर्न आयोजीत कार्यक्रममा अजय देवगन र काजोललाई यो विषयमा प्रश्न सोधिएको थियो । ‘नयाँ आमाहरूले उद्योगमा आठ घण्टाको सिफ्ट मागिरहेका छन्, के यो माग जायज छ र निर्माताहरूलाई मन पर्ला ?’ भन्ने प्रश्नमा काजोलले हाँस्दै भनिन्, ‘मलाई यो कुरा मनपर्छ कि तपाईं कम समय काम गर्न सक्नुहुन्छ ।’
अजयले काजोलको कुरा काट्दै माफी मागे र भने, ‘यो मन नपरेको भन्ने होइन । धेरैजसो इमानदार निर्माताहरूलाई यसमा कुनै समस्या हुँदैन । नयाँ आमा भएर आठ घण्टा काम गर्नु सामान्य हो । धेरैजसो मानिसहरू आठ-नौ घण्टाको सिफ्टमा काम गर्छन् । यो व्यक्तिगत कुरा हो र मलाई लाग्छ, उद्योगका अधिकांशले यो कुरा बुझेका छन् ।’
विवादको केन्द्रमा रहेको दीपिका, जो सेप्टेम्बर २०२४ मा आमा बनिन्, आफ्नो व्यक्तिगत र व्यावसायिक जीवन सन्तुलन गर्न हप्ताको पाँच दिन आठ घण्टा मात्र काम गर्न चाहन्थिन् । मिडिया रिपोर्टहरूका अनुसार, उनले आठ घण्टाको सिफ्टसँगै चर्को पारिश्रमिक, नाफामा हिस्सा र तेलुगु संवाद नबोल्ने माग राखेकी थिइन् । तर, निर्देशक सन्दीप यी मागहरूसँग सहमत नभएपछि दीपिकाको ठाउँमा तृप्ति डिमरीलाई कास्ट गरिएको छ । यो घटनाले फिल्म उद्योगमा कामको समय र व्यावसायिकताको बहसलाई थप तीव्र बनाएको छ।





