कलाशैली संवाददाता । व्यापार, व्यवसाय गरेपछि त्यसअनुसार हुने आम्दानीको निश्चित रकम सरकारलाई कर बुझाउनु पर्छ । त्यसैले पनि कतिपय व्यापारी, उद्योगपतिले आम्दानी कम देखाएर कर छलि गरेका कैंयन उदाहरण पाईन्छ । फिल्म निर्माण र प्रदर्शन पनि व्यवसाय नै हो । केही वर्षअघिसम्म त देशभर फिल्मले गर्ने व्यापारको सरकारसँग कुनै लेखाजोखा नै थिएन । हलवाला दिएको रिपोर्टलाई नै वितरक र निर्माताले मान्नु पर्ने बाध्यता थियो । सरकारले पनि त्यही अनुसार दिए लिने शैलीमा कर थाप्दै आएको थियो ।
फिल्म बजारलाई चुस्त दुरुस्त बनाउनकै लागि भनेर सरकारकै अंग चलचित्र विकास बोर्डले देशभरका हलमा बक्सअफिस प्रणाली जडान गर्यो र यही आर्थिक वर्षदेखि लागू हुने गरी रियल टाइम बक्सअफिस रिपोर्ट लिन थालेको हो । बोर्डले आफुलाई प्राप्त रिपोर्टलाई सञ्चारमाध्यममार्फत सार्वजनिक पनि गर्दै आएको छ । तर यही रिपोर्ट यतिबेला भने विवादमा परेको छ ।
बोर्डले सार्वजनिक गर्ने फिल्म व्यापारको बक्सअफिस रिपोर्टलाई लिएर सम्बन्धित फिल्मका वितरक तथा निर्माताले चर्को असन्तोष व्यक्त गर्न थालेका छन् । फुलपातीदेखि सार्वजनिक प्रदर्शनमा आएकामध्ये ‘माइतीघर’ र ‘बलिदान’ ले बोर्डको रिपोर्ट सही नभएको भन्दै बोर्ड अध्यक्ष दिनेश डिसीको राजीनामा नै मागेका छन् । उनिहरुले बोर्डले दिएको रिपोर्ट आफ्ना फिल्मले गरेको व्यापार भन्दा आधा नै कम भएको भन्दै बक्सअफिसको तथ्यांकलाई नै चुनौती दिएका छन् ।
सुरुवातमा ‘माइतीघर’ का निर्माता रोहित अधिकारीले बोर्डद्वारा सार्वजनिक गरिएको आफ्नो फिल्मको इनिसियल कलेक्सनलाई लिएर आपत्ती जनाए । उनले बोर्डको बक्सअफिस प्रणाली देशका कति हलमा जडान नै नभएको र शो सुरु हुनुभन्दा आधा घन्टा अगाडी नै हलले पठाउने रिपोर्टलाई आधारमा बनाएर फिल्मको व्यापार भन्दै सार्वजनिक गर्नु जायज नभएको बताएका छन् । उनले बोर्डले ‘गलत’ तथ्यांक दिएको भन्दै यसका अध्यक्ष दिनेश डिसीले राजीनामा नै दिनुपर्ने धारणा राखे ।
‘माइतीघर’ को असन्तुष्टी सेलाउन नपाउँदै ‘बलिदान’ का वितरक गोविन्द शाहीले पनि बोर्डले दिने बक्सअफिस रिपोर्ट सही नभएको भन्दै खुला चुनौती नै दिएका छन् । ‘फिल्म बिहान साढे ५ बजेदेखि राति साढे ११ बजेसम्म हलमा लागिरहेको छ, तर बोर्डले साँझ ८ नबज्दै रिपोर्ट दिएर भ्रम फैलाउन थाल्छ । हामी हरेक दिनको कलेक्सन रिपोर्ट एक साता पुगेपछि सार्वजनिक गर्नेछौं, यदि बोर्डले सार्वजनिक गरेको डाटासँग मेल खाएन भने उहाँ (डिसी) ले तत्काल राजीनामा दिनुपर्छ,’ वितरक शाहीले भने, ‘उहाँलाई बोर्डमा नेपाली फिल्म क्षेत्रको विकासका लागि पठाएको हो, विनास गराउन हैन ।’
वितरक शाहीले ‘बलिदान’ ले पहिलो दिन नै एक करोड ७ लाख रुपैयाँ ग्रस कलेक्सन गरेको दाबी गर्दै बोर्डले आधा नै घटाएर रिपोर्ट दिएको आरोप लगाए । बोर्डले भने ‘बलिदान’ को पहिलो दिनको कमाई ५७ लाख रुपैयाँ रहेको रिपोर्ट सार्वजनिक गरेको थियो । उक्त रिपाेर्टलाइ लिएर ‘बलिदान’ का नायक समीर भट्टले समेत बाेर्डप्रति असन्तुष्टी जनाएका छन् ।
प्रदर्शक, वितरक र निर्माताले फिल्मको व्यापारको सही आँकडा लुकाएर वा कम देखाएर कर छली गर्लान् भनेर सरकारले बक्सअफिस प्रणाली लागू त गर्यो तर यसको रिपोर्ट आउन थालेपछि उल्टै निर्माताले नै कलेक्सन घटाएर रिपोर्ट सार्वजनिक गरिएको आरोप लगाएपछि भने यतिबेला बोर्ड अध्यक्ष डिसीलाई नैतिक संकट परेको छ । तर उनले यसबारेमा सार्वजनिक टिप्पणी भने गरिसकेका छैनन् । यदि फिल्म निर्माताले प्रदर्शनको क्रममा प्रतिष्पर्धी फिल्मको भन्दा आफ्नो व्यापार माथि देखाउनकै लागि मात्र बोर्ड अध्यक्षलाई विवादमा तान्न खोजेका हुन् भने पनि डिसी यसमा चनाखो हुनै पर्नेछ, उनीहरुले दाबी गरेको व्यापार अनुसार कर तिर्छन्, तिर्दैनन् भनेर हेर्नु पनि उनको दायित्व रहन्छ ।





