कलाशैली संवाददाता । वर्ष २०८१ फिल्म क्षेत्रका लागि धेरै अर्थमा स्वर्णिम रह्यो । यसअघि हास्य विधाका फिल्मले बढि सफलता पाईरहेको सन्दर्भमा कमेडी फिल्म निर्माणमा बढि केन्द्रित भईरहेका फिल्मकर्मीका लागि २०८१ मा दर्शकले मनोरञ्जनात्मक र राम्रा फिल्म भएमा जुनसुकै विधाका फिल्म पनि रुचाइन्छ भन्ने प्रमाणित गरिदिए । यसकारण पनि यस वर्ष प्रदर्शन हुने फिल्ममा विविधता हेर्न पाइनेमा दर्शकसँगै कलाकर्मी पनि उत्साहित छन् । यसका साथै केही पुराना फिल्मकर्मी यो वर्ष कमब्याक गर्दैछन् ।
झन्डै ६ वर्षपछि अभिनेता तथा निर्देशक निखिल उप्रेती पनि फिल्मको तयारीमा जुटेका छन् । उनले फिल्म निर्माण, निर्देशन तथा अभिनय गर्दैछन् । उनले द्वन्द्व विधामै रहेर फिल्म निर्माण गरेता पनि त्यसमा वैचारिक द्वन्द्व पनि पाइने बताए । फिल्म छायांकनको तयारीका लागि उनले नेपालसँगै भारतको केही लोकेसन हेरिसकेका छन् । ‘आचार्य’ नाम राखिएको फिल्ममा उषा उप्रेती लगायतका केही कलाकार छनोट भइसकेका छन् ।
यद्यपि निखील आफ्नो ‘कमब्याक’ फिल्मलाई भव्य बनाउन चाहन्छन् । उनले बलिउडका अभिनेतालाई फिल्ममा एन्टागोनिस्टको भूमिका निर्वाह गर्न प्रस्ताव गरेका छन् । यसै सिलसिलामा छलफल गर्न उनी भारतको मुम्बई पनि पुगेका छन् । उनले त्यहाँ भारतीय प्राविधिक र केही कलाकारसँग छलफल गरेर सहकार्य गर्न सक्ने वा नसक्ने निर्क्यौल गर्नेछन् । उनले प्राविधिक रुपमा पनि फरकपन दर्शकले दिने कोसिस गरिरहेका छन् । फिल्मको छायांकन असारमा हुने बुझिएको छ ।