• समाचार
  • चलचित्र
    • कलिउड
    • बलिउड
    • हलिउड
  • भिडियो
  • फोटो ग्यालरी
  • गीत/सङ्गीत
  • न्यू मिडिया
  • अन्तरवार्ता
  • मनोरन्जन
    • रंगमञ्च
    • सूचना प्रविधि
    • सौन्दर्य-फेसन
    • शैली गसिप
×
☰
    • समाचार
    • चलचित्र
      • कलिउड
      • बलिउड
      • हलिउड
    • भिडियो
    • फोटो ग्यालरी
    • गीत/सङ्गीत
    • न्यू मिडिया
    • अन्तरवार्ता
    • मनोरन्जन
      • रंगमञ्च
      • सूचना प्रविधि
      • सौन्दर्य-फेसन
      • शैली गसिप

ट्रेण्डिङ :

    Kala Saili Kala Saili News Kala Saili Update Dayahang Rai Rajesh Hamal Bipin Karki saugat malla Miruna Magar Dinesh Dc Kala Saili Gallery Kala Saili Music

शैली समीक्षा : छ्या ! भुटान, वाह ! ‘भूठान’

  •  कलाशैली संवाददाता
  • २०८२ बैशाख १३, शनिबार ११:२६ प्रकाशित
    Advertisement
    Advertisement
    • अ-
    • अ
    • अ+

    कलाशैली संवाददाता ।

    यो कागजको खोस्टो
    म र मेरो घरबीच पर्न मिल्दैन
    एकपल्ट म घर नफर्की मर्न मिल्दैन

    सकिनुअघि पुग्नु छ शुरू भएको ठाउँमा
    अल्झाइ सास पर्खिरहेछ, कसैले गाउँमा
    कालले पनि मलाई ताकेता गर्न मिल्दैन
    एकपल्ट म घर नफर्की मर्न मिल्दैन

    कवि नवराज पराजुलीका यी पंक्तिहरुमा फिल्म ‘भूठान’ को पूरा मर्म अटाएको छ । ८०–९० को दशकमा भुटानबाट खदिएर नेपालहुँदै अमेरिका, क्यानडा लगायत तेस्रो मुलुकमा पुनर्बास हुन बाध्य भुटानी शरणार्थीको पीडा भने सायद यो भन्दा अझ ठूलो पनि हुनसक्ला, जो आफ्नो जन्मथलो फर्कने आशैआशामा सात समुद्रपार नै प्राण त्यागे ।

    ओहायोमा बस्दै आएका अमेरिकी नागरिक भईसकेका विष्णुबहादुर केसी (हरिवंश) ले मर्नुअघि एकपल्ट भएपनि आफ्नो जन्मथलो, आमाको भूमी भुटान जानका लागि विगत १० वर्षमा १० पटक भीसा आवेदन दिए, बिडम्बना दसैपल्ट अस्वीकृत भए । संसारको सबैभन्दा बलियो मुलुकको बलियो राहदानीवाहक भएर पनि विष्णु भुटान सरकारका अघि सबैभन्दा कमजोर साबित भईरहेका छन् । उनी र उनको घरबीचमा कागजको खोस्टोरुपी भूटानको भीसा पत्र भीमकाय पर्खाल बनेर दशकदेखि उभिएको छ ।

    विनोद पौडेलको लेखन तथा निर्देशन रहेको फिल्म ‘भूठान’ ले आफ्नै घरबाट कहिल्यै फर्कनै नपाउने गरी खेदाइएकाहरुको कथा हैन, व्यथा पस्केको छ । त्यसैले पनि फिल्म घटनाप्रधान छैन, बरु पूरापूर पात्रबीचको मानसिक द्वन्द्व, मनोगति, गुम्स्याहट, उकुसमुकुसलाई बोकेर अघि बढेको छ । नन लिनिअर फम्र्याटमा ब्याक एण्ड फोर्थ प्रिजेन्टेस रहेको ‘भूठान’ ले दर्शकलाई कथानक हिसाबले टर्न एन्ड ट्वीस्टको कुनै रोमाञ्चक यात्रामा सयर गराउँदैन, न त कुनै प्रतिक्षित क्लाइमेक्सको आशा देखाउँदै दर्शकलाई सुरुवातमा कथा लुकाउने चटारोमा नै लाग्छ । फिल्मले उठाउन खोजेको समस्याको विस्कुनलाई सुरुवातकै दृश्यमा सर्लक्क फिँजाईदिएको छ ।

    ‘हेल्लो भीसा अफिसर । मेरो नाम विष्णुबहादुर केसी । म १९८८ को भूटानको नेशनल फुटबल प्लेयर । मैले १० पटक भीसाका लागि आवेदन दिईसकें तर हरेकपल्ट अस्वीकृत भयो । म किन भुटान जान पाउँदिनँ ? मेरो हजुरबा भुटानमा जन्मिनु भयो, बा भुटानमै जन्मनु भयो । म पनि त्यहीं जन्मिएको हुँ । म मेरो देश छोड्न लागेको हैन, किनभने म अहिले अमेरिकी हुँ’ फिल्मको पहिलो संवादले नै ‘भूठान’ को कन्फ्लिक्टलाई प्रष्ट्याईदिएको छ । त्यसैगरी फिल्मको दोस्रो संवाद दृश्यले विष्णुबहादुरको शवको अन्त्येष्टी कुन विधिबाट गर्ने ? ईसाई धर्म अनुरुप गाड्ने की हिन्दी परम्परा अनुसार जलाउने ? भन्ने दोस्रो कन्फ्लिक्ट पस्किहाल्छ । यिनै दुई केन्द्रिय द्वन्द्वलाई बोकेर फिल्म वर्तमान र विगतमा अघिपछि दौडिरहन्छ ।

    पौने दुई घन्टाको ‘भूठान’ कथा बोकेको फिल्म भन्दा पर व्यथा बोकेको कविता हो । विनोद पौडेलले दृश्यहरुको संयोजन गरी एउटा मार्मिक कविता दर्शकमाझ पस्केका छन्, जसलाई कथामा समूल व्यक्त गरिदिएका हुन् कवि नवराज पराजुलीले । फिल्ममा दुई गोलाद्र्ध छन्, अमेरिका र भुटान । दुई धर्म छन्, इशाइ र हिन्दु । दुई धर्म गुरु छन्, पादरी र पण्डित । दुई श्रीमती, दुई छोरा सबै सबै उस्तै लाग्ने तर एकदम विपरित ध्रुवका । पौडेलले पटकथादेखि दृश्यसम्ममा यी सबै पात्रलाई समानान्तर रुपमा तौलेका छन् ।

    अन्तिम संस्कारका लागि जेठो छोरा (जोयश) बाउलाई जलाउने पक्षमा छन्, भने कान्छी श्रीमती लक्ष्मी (पूजा) श्रीमान जिन्दगीभर आफुसँगै रहेकाले उनको अन्तिम इच्छा आफ्नो शव गाडियोस् भन्नेमा रहेको जिकिर गर्दै आफु मर्न परेपनि जलाउन नदिने ढिपी कस्छे । जेठी श्रीमती (अरुणिमा) भने श्रीमान हिन्दु भएकोले जलाउनै पर्ने र हिन्दी धर्म अनुसार अन्तिम संस्कार गर्ने कर्तव्य जेठो छोराको हुने दलिल पेश गर्छे । ढिलो गरी आउने अमेरिकी फौजबाट आईपुगेको कान्छो छोरो पनि बाउ ‘विश्वासी’ भएकोले लाश गाडेर सुखद बिदाई गर्ने पक्षमा उभिन्छ ।

    फिल्म पुनः विगतमा पुग्छ । पृष्ठभूमिमा बजिरहेको समाचारमा ओहायोका सिनेटर शेरोड ब्राउनले अमेरिकी कंग्रेसको ११८ औ सभामा भुटानी आप्रवासी सम्बन्धी विधेयक पेश गरेको उल्लेख गर्दै उक्त विधेयकले १९८० र ९० को दशकमा भुटानबाट खेदाइएका एक लाख भन्दा बढी भुटानी नागरिकमाथि भएको दमन र जबरजस्ती निष्कासनको जिम्मेवारी भुटान सरकारले लिनुपर्ने भनिएको सुनिन्छ । ( तथ्यजाँच ः यो विधेयक ‘एचआर २२८’ लाई प्रतिनिधि सभामा प्रतिनिधि सूसन वाइल्डले पेश गरेका थिए ।) दृश्यमा विष्णुबहादुर आमासँगका आत्मिय पलको सम्झनामा पुग्छन्, घरअगाडीको सिमलको रुख सम्झन्छन् । अनि भन्छन्, ‘आमा, हामी नेपाल छिर्दा तिमी हामीसँग किन नआएकी ? मसँग रिसाएकी ?’ कता कता निर्देशकले यो आमा शब्दलाई जन्मदेश भुटानसँग बिम्बात्मकरुपमा जोड्न खोजेको पनि लाग्छ । नातिनीसमेत ठूली भईसकेकी विष्णुबहादुर थकित, गलित र बिमार शरिर लिएर प्रायः घरछेउको बुढो रुखलाई हेर्दै एकालाप गर्छ । घरसँगैबाट दिनहुँ कुद्ने रेल हेर्दै डाँको छोडेर रुन्छ, मानौं उसलाई त्यो रेलले भुटानसम्म पुर्याउन सक्दैन । साधन भएर पनि साध्य छैन, विष्णुबहादुरसँग । रेलको लिकमा उभिएर आफ्नै रुपको बुँख्याचाले आफैंलाई गिज्याईरहेको महसुस गर्छ उ ।

    गेटअप, उमेर र परिस्थितीले विष्णुकै प्रतिबिम्ब जस्तो लाग्ने लास व्यवस्थापक (ब्रुस) पनि आफु एक्लो भएको र जिउँदा मान्छेसँग भन्दा बरु मरेका मान्छेसँगै कुरा गर्न मन लाग्ने बताउँछ । उ भन्छ, ‘अमेरिकीहरु स्वतन्त्रताका नाममा एकदमै एकलकाटे हुँदै गईरहेका छन् ।’ त्यस्तै एक्लो महसुस गर्ने अर्को पात्र छे, नातिनी गुनगुन (अदिती) । समलिंगी सम्बन्धमा रहेकी उसको अभिभावकसँग वैचारिक मतभेद ठूलो छ । बाउआमाले उसको भविष्यको हेरचाहका लागि भाई जन्माउन लागेको खबरले उसलाई आहत गराउँछ । आफ्नो लागि आफैं लड्न सक्षम छु भन्ने उसको कठोर जवाफले आफ्नै घर फर्किन नसकेर गिडगिडाइरहेको हजुरबालाई समेत श्वास नै अड्किने गरी घोचिदिन्छ ।

    विष्णुबहादुरका दुई श्रीमतीको बिम्ब पनि निकै अर्थपूर्णरुपमा राखिएको छ । कान्छी श्रीमतीसँग बस्दै आएको भएपनि विष्णु सपनामा होस् वा विपनामै सूस्केरा हाल्न वा प्रेमाभाव सँगाल्न जेठी श्रीमतीसँग बढि नै नजिक छ । जेठी श्रीमतीलाई विष्णु आफैंले मन पराएर दार्जिलिंगबाट बिहे गरेर भुटान लगेको हो । तर झट्टै रिसाउने श्रीमती कुनैबेला माइत गएर बसेपछि कान्छी मगर्नीले विष्णुलाई रगतको लेखेको प्रेमपत्र पठाएपछि आमाले नै बुहारी भित्राएकी हुन् । जेठी श्रीमती विष्णुका लागि भुटान जस्तै हो भने कान्छी अमेरिका जस्तै, जसलाई अरु कसैले आफुसँग जबरजस्ती गाँसिदिएको सम्बन्ध जस्तै ।

    ‘भूठान’ लाई सबटेक्स्टमा तहगत अर्थ निकाल्न सकिने गरी निर्देशकले काम गरेका छन् । उनले दृश्यमा एक्सनलाई एकदमै कम महत्व दिंदै यसको रियाक्सनमा खेल्न चाहेको देखिन्छ । दाजुभाईबीचको वादविवादलाई समेत उनले पृष्ठभूमीमा राखेर रियाक्सनमा खेल्न खोजेका छन् । विषय उठानका सवालमा पनि विनोद पौडेलले निकै सुझबुझ देखाएका छन् । उनले भुटानीहरु देशबाट निकालिएको, भारतले नेपाल खेदेको र नेपालबाट तेस्रो मुलुक जाँदाका कुनै पनि घटनामा उनी जान चाहेका छैनन् । बरु ती घटनाको चोट बोकेका मनको भावलाई व्यक्त गर्ने प्रयास गरेका छन् ।

    ‘भूठान’ विष्णु जिवितछँदा उसको भुटान जाने इच्छा र मृत्युपछि मोक्ष प्राप्तीबीचको यात्रा उल्झन पनि हो । मन अस्थीर भएपनि उसको अवस्था एकदम स्थीर छ । दृश्यभाषामा पनि यसलाई सुसन प्रजापतिले बल पुग्नेगरी क्यामेराको मुभमेन्टलाई स्थिर राखेरै लामा लामा सट खिचेका छन् । उनको छायांकन र निर्देशनबीचको तालमेल मिलेको देखिन्छ ।

    अभिनय फिल्मको अर्को सुन्दर पक्ष हो । हास्यव्यंगका प्रस्तुतीबाट आफ्नो छवीलाई सफल हास्यकलाकारका रुपमा स्थापित गराईसकेका हरिवंशलाई विष्णुको चरित्रमा लिनु र खेल्नु दुवै निकै जोखिमपूर्ण थिए । तर लिने र खेल्ने दुवै पक्ष उक्त चुनौतीमा खरो उत्रेका छन् । अभिनयका हिसाबले निर्देशकले कच्चा कलाकार भएपनि अदितीबाट निकै पाको काम लिएका छन् । उनले आफुलाई हरिवंश र ओस्कार मनोनित कलाकार ब्रुस डर्नको छायाँमा पर्न दिएकी छैनन् । जोयश, ऋचा, अरुणिमा, दयाहाङ, विमल, पूजा सबैले जीवन्त अभिनय गरेका छन् ।

    प्राविधिक पक्षमा खासगरी कलर, पृष्ठभूमी संगीत, सम्पादन, कलामा फिल्मको बलियो पकड देखिन्छ । बिम्बमा निर्देशकले तार्किक र अर्थपूर्ण सन्देश घुसाउन सफल भएका देखिन्छन् । तर उनले फिल्मलाई आमदर्शक लक्ष्यित बनाएका छैनन् वा सकेका छैनन् । सामान्य बुझाईका आम दर्शकका लागि भने ‘भूठान’ पट्यारलाग्दो नै हुने जोखिम उच्च छ । यसका लामा लामा दृश्य, कम चलायमान पात्र र नगन्यप्रायः घटनाक्रमका कारण फिल्मका आम दर्शकको रोजाईमा ‘भूठान’ नपर्न सक्छ । निर्देशकले सबै उमेर समूहका दर्शकलाई भावनात्मक बनाउन सक्ने निकै वजनदार र दर्शनीय विषयबस्तु टिपेका भएतापनि प्रस्तुतीमा भने उनले फिल्मलाई व्यवसायिक बनाउन सकेनन् (वा खोजेनन्) । फिल्म मास मिडिया नै भएकोले पनि मुलतः मास अडियन्सलाई लक्ष्यित गर्ने यसको धर्म हो । निर्देशक पौडेल यस धर्ममा नास्तिक देखिन्छन् ।

    र, अन्त्यमा । ओपन ईन्डिंगमा टुंगाएको भएपनि फिल्म ‘भूठान’ ले उठान गरिएको विषयमा अर्थपूर्ण र सटिक सन्देश भने दिएको छ । भुटानको चिराङ गाउँमा हजुरबाको पालामा भएको भीषण आगलागीको कथाको पृष्ठभूमीसहित मुल पात्र विष्णुले हजुरबाको शब्द सापटी लिंदै भन्छ, ‘एकठाउँमा वर्षौंदेखि बलियोसँग जरा गाडेर बसिरहेको रुखलाई जुरुक्क उखेलेर अर्को ठाउँमा सार्नु हुँदैन, पाप लाग्छ ।’ भुटानको पुख्र्यौली थाँतथलोबाट जुरुक्क उखेलेर मिल्काईएका भुटानीलाई तेस्रो मुलुकमा लगेर सार्न त सारियो, तर के कती सरे ? न त्यसको लेखाजोखा भयो, न पापको नै । जरा काटिएर अन्यत्रै सारिएर विष्णुबहादुर जस्ता रुखहरु अहिले ओहायो पेन्सिलभेनियालगायत क्षेत्रमा पोष्ट ट्रमाटिक स्ट्रेस डिसअर्डर (पीटीएसडी) भएर ओईलाईरहेका हुन सक्छन् । यो दूर्दशा निम्त्याउने भुटानप्रति खेद तथा यस्ता गहन विषयलाई फिल्ममार्फत् पस्केकोमा ‘भूठान’ प्रति साधुवाद ।

    शैली समीक्षा

    भूठान
    निर्देशक : विनोद पौडेल
    कलाकार : हरिवंश आचार्य, अदिती प्याकुरेल, ब्रुस डर्न, अरुणिमा मजुमदार, विमल सुवेदी, दयाहाङ राई, जोयश पाण्डे, ऋचा घिमिरे, पूजा चन्द । 

    Post Views: 155
    • Bhuthan
    • Hari Bansha Acharya
    • Kala Saili
    • Kala Saili News
    • Kala Saili Review
    • Kala Saili Update
    प्रकाशित मिति: २०८२ बैशाख १३, शनिबार ११:२६
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    एकै साता सगरमाथा र ल्होत्से चढिन् कविता
    यस्तो छ सनिशाको ‘नरसिंहाः अवतार’ मा काम गर्दाको अनुभव
    ‘नरसिंहाः अवतार’को बुकिङ खुला, नयाँ रोमान्टिक गीत सार्वजनिक
    Advertisement
    ताजा अपडेट
    • १. एकै साता सगरमाथा र ल्होत्से चढिन् कविता

    • २. यस्तो छ सनिशाको ‘नरसिंहाः अवतार’ मा काम गर्दाको अनुभव

    • ३. ‘नरसिंहाः अवतार’को बुकिङ खुला, नयाँ रोमान्टिक गीत सार्वजनिक

    • ४. यस्तो बन्यो ‘जन्ते बाख्रो’ को शिर्ष गीत ‘मुकु मुकु म्या’

    • ५. ‘बाउ भर्सेस छोरा’ घोषणा : पुस्तान्तरणको कथा पर्दामा

    चर्चित
    • १. बोर्डमा सदस्य बने विरेन्द्र

    • २. ‘झुठा प्रशंसा हुन्छ’ भन्ने दीपेन्द्रले कीन गरे प्रीमियर ?

    • ३. नोरा फतेहीको काठमाडौंमा भव्य प्रस्तुति (फोटो फिचर)

    • ४. नोरा फतेही काठमाडौंमा, आजै ‘लाइभ’ प्रस्तुति दिने

    • ५. ‘नोरा फतेही लाइभ इन नेपाल’ मार्फत चर्चामा गौरव

    हाम्रो बारेमा

    कम्पनी नम्बर : ०२१२ [२०७९]
    सूचना विभाग : ००१० [२०७९/०८०]
    प्रेस काउन्सिल : ००११ [२०७९/०८०]

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : अनामनगर, काठमाडौं, नेपाल
    Email : info@kalasaili.com

    हाम्रो टीम

    सम्पादक/सञ्चालक :
    प्रबन्ध निर्देशक :
    बजार प्रबन्धक :
    सल्लाहकार :
    समाचार संयोजक :

    सामाजिक संजाल

    © 2025 Kalasaili . All Rights Reserved.