कलाशैली संवाददाता । पूर्व मिस नेपाल श्रृङ्खला खतिवडा पछिल्लो समय आलोचित बनिरहेकी छिन् । सामाजिक सञ्जालमा उनको विभिन्न अभिव्यक्ति र सुन्दरताको चर्चा हुँदै आए पनि अहिले उनलाई अनफलो गर्ने ट्रेन्ड नै चलेको छ । श्रृङ्खलाको इन्स्टाग्रामबाट लाखौ फलोअर्स घटेका छन् । पहिले १० लाखभन्दा बढी फलोअर्स कमाएकी उनको यो समाचार तयार पार्दासम्म ८ लाख ९९ हजार मात्र फलोअर्स बाँकी छन् । यसको अर्थ, उनले १ लाखभन्दा बढी फलोअर्स गुमाइसकेकी छिन् ।
यो घटना नेपालको जेन जी पुस्ताको आन्दोलन र ‘नेपो किड्स’ विवादसँग जोडिएको छ । सामाजिक सञ्जालमा सुरु भएको ‘नेपो किड्स’, ‘नेपो बेबी’ जस्ता ट्रेन्डको प्रत्यक्ष असर श्रृङ्खलामा परेको छ । उनी पूर्व स्वास्थ्यमन्त्री बिरोध खतिवडा र बागमती प्रदेश सभासद् मुनु सिग्देल खतिवडाकी छोरी हुन् ।
जेन जी पुस्ताको आन्दोलनले भ्रष्टाचार, सामाजिक सञ्जाल प्रतिबन्ध र राजनीतिक अभिजात वर्गका सन्तानहरूको विलासितापूर्ण जीवनशैलीविरुद्ध विरोध गरेको छ । श्रृङ्खलाले मिस नेपाल जित्दा बाल शिक्षा जस्ता मुद्दामा बोलेकी थिइन्, तर व्यवहारमा नउतारेको भन्दै आलोचना भइरहेको छ । उनको लक्जरी जीवनशैलीको पोस्टहरूले युवाहरूलाई रिस उठाएको छ, जसले ‘हाम्रो कर, उनीहरूको विलासिता’ जस्ता कमेन्टहरू छोडेका छन् ।





