कलाशैली संवाददाता । नेपाल सरकारले सूचीकरण नभएका सामाजिक सञ्जालहरू बन्द भएपछि कुन–कुन सामाजिक सञ्जाल नेपालमा चलाउन सकिन्छ भन्ने विषयमा चौतर्फी चासो बढेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका अनुसार हालसम्म टिकटक, भाइबर, निम्बज, वीटक र पाेपोलाइभ गरी पाँच वटा प्ल्याटफर्म सूचीकरण भइसकेका छन् । यी प्ल्याटफर्म बन्द हुने छैनन्, निर्वाध रुपमा चलिरहनेछन् ।
नेपालमा दर्ता भएको नेपाली सामाजिक सञ्जाल वीटक (साराश मिडिया ल्याब्स प्रा.लि.) विस्तारै प्रयोगकर्ता बढ्न थालेका छन् । वीटकको माउ कम्पनि साराश मिडिया ल्याब्सका प्रमुख सञ्चालक क्षितिज दाहालले डान्स समुदायसहित सम्पूर्ण कन्टेन्ट क्रिएटरलाई जोड्ने कार्य भइरहेको बताए ।
‘हाम्रो एपमा पछिल्लो समय प्रयोगकर्ता बढ्नुभएको छ । हामीले हिपहप डान्स प्रतियोगिता घोषणा गरेर यसको लन्च गर्ने तयारी गरेका थियौँ । तर, नेपालमा सूचिकृत भएको एपमा हाम्रो वीटकको नाम आएपछि प्रयोगकर्ता बढ्न थालेका छन्’, उनले भने ।

संचालक दाहालले अन्तर्राष्ट्रिय हिपहप डान्सर नोर्बु तामाङ र सुस्मिता तामाङसँग औपचारिक सम्झौता गरेका छन् । सम्झौताअनुसार, नोर्बु र सुस्मिताले वीटकले निर्माण गर्ने म्युजिक भिडिओमा अभिनय गर्नेछन् । दुवै डान्सरले विभिन्न अन्तर्राष्ट्रिय डान्स प्रतियोगितामा सहभागिता जनाउँदै आफूलाई विश्वभर परिचित गराईसकेका छन् । ‘नोर्बु र सुस्मिताजस्ता अन्तर्राष्ट्रिय हिपहप कलाकारलाई नेपालमा सञ्जालमार्फत जोड्दै हिपहप क्रिएटर इकोनोमीलाई संस्थागत रूपमा विकास गर्ने र विभिन्न क्षेत्रमा विस्तार गर्ने हाम्रो योजना छ’, उनले भने ।
वीटकले हिपहप समुदायलाई केन्द्रमा राखेर ‘क्रिएटर इकोनोमी’ निर्माण गर्ने लक्ष्य राखेको छ । यसअन्तर्गत प्रतिस्पर्धा, क्यास गिभअवे, डान्स च्यालेन्जलगायत अनलाइन र भौतिक कार्यक्रमहरू सञ्चालन गरिने बताइएको छ । उपभोक्ताले वीटक एप डाउनलोड गरी लगइन गरेर आकर्षक गिफ्ट ह्याम्पर प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।





