कलाशैली संवाददाता । अभिनेत्री उपासना सिंह ठकुरीले निर्देशक तथा निर्माता मिलन चाम्सको निर्देशनमा बेलायतमा छायाङ्कन भइरहेको फिल्म ‘सुम्निमा’ छाडेकी छन् । शीर्ष नायिकाको भूमिकामा रहेकी उपासनाले बेलायत पुगेपछि निर्माण टिमसँग केही विषयमा असमझदारी भएपछि आपसी सहमतिमा प्रोजेक्ट छाडेको बताईएको छ । उनी केही समय अगाडि मात्र बेलायत पुगेकी थिइन् ।
उपासनासँग आपसी सहमति मै सहकार्य अगाडि नबढाईएको फिल्म युनिटले बताएका छन् । उपासना बाहिरिए पनि फिल्मको छायाङ्कन भने निरन्तर चलिरहेको छ । निर्माण पक्षले उनको स्थानमा नयाँ अभिनेत्री ल्याउने तयारी गरिरहेको बुझिएको छ, यद्यपि नयाँ अभिनेत्रीको बारेमा आधिकारिक जानकारी सार्वजनिक भएको छैन । ‘सुम्निमा’ शिर्षकमै अभिनय गर्ने अभिनेत्रीले आउँदो साता बेलायत पुगेर छायांकन सुरू गर्ने बताईएको छ ।
हाल बेलायतको लण्डनसहरमा कुन्साङ बोमजोम, अंकित पाख्रिन लामा र अनुप विक्रम शाही लगायतका कलाकारले आफ्नो भागको दृश्य खिचिरहेका छन् । निर्देशक चाम्सले यो विषयमा हालसम्म कुनै आधिकारिक धारणा सार्वजनिक गरेका छैनन् । गोर्खा फिल्म्स र चाम्स इन्टरटेन्मेन्टको संयुक्त लगानीमा बन्न लागेको यो फिल्म नेपाली र अङ्ग्रेजी दुवै भाषामा निर्माण हुने बताईएको छ । प्रेम कथामा आधारित यो फिल्मको कथा र पटकथा राजीव थापाले लेखेका छन् ।





