कलाशैली संवाददाता । पहिलो फिल्म निर्माणमार्फत नै चर्चामा आएका निर्माता हुन् विनोद पौडेल । डेब्यु फिल्म नै ‘पूर्णबहादुर सारंगी’ भएपछि विनोदले सफल निर्माताको रुपमा सुरुआत गरे । तर, दोस्रो फिल्मसम्म आइपुग्दा उनी फिल्मको कथा भन्दा पनि ‘फन्डा’ गरेर फिल्म चलाउने दाउँमा छन् । फिल्म नेपाली र हिन्दी भाषामा रिलिज गर्ने तयारीका साथ जुटेका निर्माता पौडेलले फिल्मको ट्रेलर रिलिज भए लगत्तै एक विज्ञाप्ति निकाले ।
ट्रेलर रिलिजमा नपुगेकालाई समेत उक्त विषयको सम्बन्धमा जानकारी गराए । ट्रेलर सार्वजनिक गर्न आयोजित कार्यक्रममा एक कन्टेन्ट क्रिएटरले ‘नचलेका कलाकार’ लिएर फिल्म तयार गर्नुभयो नी ? भन्ने वाक्य जोडेर सोधेको प्रश्नमा उनले विज्ञाप्तिमार्फत आपत्ति जनाए । जबकी उक्त विषयको समाधान सोही कार्यक्रममा भईसकेको थियो ।
फिल्मकी कलाकार सरिता गिरीले प्रश्नसोध्नु अगाडि नै ‘नचलेको कलाकार’ लाई मौका दिएको भन्दै निर्माता पौडेलसहित टिमको प्रसंशा गरेकी थिइन् । उनै कलाकारले भनेको शब्दलाई कन्टेन्टमा भ्यूज बटुल्ने अभिप्रायले केहीले प्रश्न तेर्साए । आफ्नै कलाकारले भनेको विषयलाई प्रश्न बनाउँदा निर्माता पौडेल किन विज्ञप्ति निकाल्न बाध्य भए त ?
विज्ञप्ति निस्किएसँगै फिल्मको विषय भन्दा पनि ‘नचलेको कलाकार’ भन्ने विषयले चर्चा पायो । उनले फिल्मकर्मीको सहानुभूति पनि प्राप्त गरे । फिल्मलाई प्रचारप्रसारमा केही हदसम्म मदत पनि गर्यो । तर, फिल्मको कन्टेन्ट वा ट्रेलरको चर्चा भन्दा अन्य विविध पक्षले चर्चाले फाइदा पुग्ला त ? यो त फिल्म प्रदर्शन भएपछि थाहा नै हुनेछ ।
यसअगाडि ‘पूर्णबहादुरको सारंगी’ मा पनि उनले फिल्मको विषय भन्दा पनि एक व्यक्ति फिल्म हेरेर रोएको भिडिओले दर्शक तान्न मदत गरेको विषयलाई नकार्न सकेका छैनन् भने आफूले केही रकमको टिकट खरिद गरेको बताईसकेका छन् । उनले अघिल्लो पटक ‘पूर्णबहादुरको सारंगी’ मा स-साना भूमिकामा रहेका विजय बराललाई मुख्य भूमिका दिएका थिए । यसपटक पनि ‘अभिमन्यु : च्याप्टर १’ मा अभिनयमा अब्बल कलाकार कामेश्वर चौरासियालाई मुख्य अभिनेता बनाएका छन् ।
तर, फिल्मको विषयको चर्चा गर्न छाडेर उनी फन्डा गरेर दर्शकलाई फिल्मको जानकारी दिलाउने कसरतमा छन् । नत्र, विवाद सल्टाउनुको सट्टा भाइरल हुने लोभमा उनले विवाद बढाउन खोजेको देखिन्छ । खैर, एकपटक आफ्नो फान्डाका कारण घरेलु बजारमै ऐतिहासिक व्यापार गर्ने फिल्म ‘पूर्णबहादुरको सारंगी’ बनाइसकेका निर्माता पौडेल यसपटक पनि सोही प्रक्रियामा छन् । यसपटक पनि उनलाई भाग्यले साथ् दिन्छ वा दिदैन यो भने हेर्न बाँकी छ ।





