कलाशैली संवाददाता । अभिनेता दयाहाङ राईले आफ्नो आगामी फिल्म ‘रिमै’ ले गुरुङ समुदायको कला, संस्कार, भेषभूषा र जीवन दर्शनलाई प्रस्तुत गर्ने बताएका छन् । गुरुङ संस्कृतिमा आधारित यो फिल्मले चेलीबेटीको कथालाई उजागर गर्नेछ । बाहिरी रूपमा ‘कबड्डी’ शृंखलासँग समानता देखिए पनि यो पूर्ण रूपमा फरक रहेको उनले स्पष्ट पारे ।
‘सोल्टा र सोल्टिनीको प्रेम कथा र सम्बन्धको कुरा भएकाले बाहिरबाट उस्तै लाग्न सक्छ, तर संस्कृति र कथावस्तुमा यो कबड्डीभन्दा निकै फरक छ’, राईले भने । उनले राई, लिम्बु, मगर, थकाली, शेर्पा, गुरुङलगायत समुदायका संस्कार बाहिरबाट समान देखिए पनि यथार्थमा भिन्न रहेको बताए । अभिनेत्री रिश्मा गुरुङले आफ्नै समुदायको कथामा आधारित भएकाले १० वर्षपछि फिल्ममा फर्किएको बताइन् ।
‘गुरुङ समुदायको संस्कार र संस्कृति समेटिएको स्क्रिप्ट पढेपछि काम गर्न मन लाग्यो’, उनले भनिन् । खिल बहादुर गुरुङको निर्देशनमा बनेको यो फिल्म भदौ २० गतेदेखि प्रदर्शनमा आउनेछ ।
गोरखा सिरानचोक एण्ड लिगलिगकोट फिल्म्स प्रालिको प्रस्तुति र रोटेपिङ इन्टरटेन्मेन्टको सहकार्यमा बनेको फिल्ममा दयाहाङ राई, अर्पण थापा, रिश्मा गुरुङ, गौमाया गुरुङ, कविता आले मगर, माओत्से गुरुङ, पुस्कर गुरुङ, वीरमाया गुरुङ, वीरवल घले, डिवी गुरुङ, टेक गुरुङ र बालकलाकार असिम सुब्बा, प्रेस्टु गुरुङ र प्रश्ना राना मगरको अभिनय छ । कवि उपेन्द्र सुब्बाले लेखेको पटकथालाई शैलेन्द्रध्वज कार्कीले खिचेका छन् ।





