कलाशैली संवाददाता । फिरोज तिमिल्सेनाको निर्देशनमा बन्ने फिल्म ‘कहाँ गयौ तिमी…’ को निर्माण घोषणा गरिएको छ । सहारा फिल्म्सको प्रस्तुति रहने यो फिल्मको घोषणा श्रीकृष्ण जन्माष्टमीको शुभ अवसर पारेर गरिएको हो । टेलिभिजन होस्ट हुँदै निर्देशनमा आएका तिमिल्सेनाले यसअघि ‘नेपाल आइडल सिजन-१’, ‘भ्वाइस अफ नेपाल’ लगायतका शोको निर्देशन तथा रचनात्मक जिम्मेवारी सम्हालिसकेका छन् । ‘दर्पण छाया-२’ मा अभिनय गरेका तिमिल्सेना गायक पनि हुन् । यसै फिल्ममार्फत निर्देशनमा डेब्यु गर्न लागेका हुन् ।
फिल्मको कथा जीवन आचार्यले लेखेका हुन् भने सङ्गीत प्रकाश नेपालीको रहनेछ । फिल्ममा को-को कलाकार र निर्माता रहने भन्ने कुरा भने खुलाइएको छैन । फिल्मको छायांकन, प्रदर्शन मिति र अन्य टिमबारे चाँडै नै जानकारी दिने निर्देशक तिमिल्सेनाले बताएका छन् ।





