कलाशैली संवाददाता । निर्माणको तयारीमा रहेको फिल्म ‘पार्वती’मा अभिनेत्री तथा निर्देशक दीपाश्री निरौला अनुबन्ध भएकी छन् । उनलाई निर्माण समूहले गएको मंगलवार औपचारिक रुपमा अनुबन्धित गरेको हो । फिल्मकी अभिनेत्री तथा निर्देशक नीता ढुंगाना अधिकारीले दीपाश्रीसँग लामो समयदेखि मौखिक छलफल भए पनि मंगलबार कागजी सम्झौता सम्पन्न भएको बताइन् ।
यी दुईले यस अगाडि ‘६ एकान ६’ मा सहकार्य गरेका थिए । उक्त फिल्म रिलिजको समयमा दीपा र नीता बीच सम्बन्ध हार्दिक थिएन । त्यसको असर आउँदा धेरै प्रोजेक्टमा पर्यो । दीपकराज गिरीसहितका हास्य कलाकारले ठूलो पर्दामा डेब्यु गर्दा पत्याएकी अभिनेत्री नीतालाई त्यसपछि उक्त समूहको फिल्ममा देख्न पाइएन ।
यद्यपि समय बितेसँगै नीता विस्तारै दीपक र दीपाको समूहमा हार्दिक सम्बन्ध बनाउन सफल भएकी छिन् । यसकारण यी दुईले सहकार्य गर्न लागेका हुन् । दीपाश्रीले अनुबन्धपछि १२ वर्षअघिको सहकार्य सम्झिइन् ।
नीताले पनि १२ वर्षअघि दीपाश्रीले आफूलाई सम्झिएको र अहिले आफ्नो निर्देशनमा दीपाश्रीलाई अनुबन्ध गर्न पाएकोमा खुशी व्यक्त गरिन् । ‘छक्का पञ्जा’ टिमकी सफल निर्देशक तथा अभिनेत्री दीपाश्रीका अधिकांश फिल्म व्यावसायिक रूपमा सफल छन्, जसले ‘पार्वती’ प्रति थप अपेक्षा बढाएको छ ।





