कलाशैली संवाददाता । नेपाली फिल्म ‘सतीदेवी’ को विशेष प्रदर्शन आगामी शनिबार, साउन ३१ गते (१६ अगस्त) अमेरिकाको भर्जिनियामा हुँदैछ । महिलाहरूको महान् पर्व तीजको अवसरमा नारी सम्मानको सन्देश बोकेर यो फिल्मको विशेष शो आयोजना गरिएको आयोजक पुष्कर पन्तले जानकारी दिएका छन् । लामो समयदेखि अमेरिकामा बसोबास गर्दै आएका पन्त नेपाली फिल्म निर्माण, कलाकारिता र समाजसेवामा सक्रिय छन् । उनले ‘सतीदेवी’ राष्ट्रिय तथा अन्य थुप्रै अवार्ड जितिसकेको फिल्म भएकाले विशेष प्रदर्शनको निर्णय गरिएको बताए ।
‘हामीले सतीदेवीको चर्चा धेरै सुन्यौं । यस्ता मौलिक र पारिवारिक फिल्म बन्नुपर्छ र धेरैले हेर्नुपर्छ भन्ने मान्यताले यो शो आयोजना गरेका हौं’, पन्तले भने, ‘हामी जहाँ भए पनि नेपाली कला, संस्कृति र मौलिकताको संरक्षणका लागि पहल गर्नुपर्छ । यो प्रदर्शन त्यसैको एक हिस्सा हो ।’
चलचित्र विकास बोर्डद्वारा आयोजित ‘राष्ट्रिय चलचित्र पुरस्कार २०८०’ मा विशेष फिल्म पुरस्कार जित्न सफल ‘सतीदेवी’ ले हालसम्म राष्ट्रियसहित एक दर्जन उत्कृष्ट अवार्ड हात पारिसकेको छ । यो नारीप्रधान फिल्म लक्ष्मण सुवेदीको लेखन, निर्माण र निर्देशनमा बनेको हो । फिल्ममा मलिका महत, रमेश बुढाथोकी, सन्दीपबाबु लोहनी, कुलबहादुर अधिकारी, सृजना अधिकारी, बालकलाकार हर्षिका वली र मञ्जिला बानियाँलगायतको अभिनय छ ।
गोल्डेन स्टेट मुभी मेकर्स एलएलसी, क्यालिफोर्नियासँगको सहकार्यमा दिलासा क्रिएसनको प्रस्तुतिमा बनेको यो फिल्मका निर्माता दिलासा, सारा, श्रीदेवी र विशाल सुवेदी छन् । निर्देशक सुवेदीले भर्जिनियापछि अमेरिकाका अन्य राज्यहरूमा पनि ‘सतीदेवी’ को विशेष प्रदर्शन हुने जानकारी दिए । यो फिल्मले नेपाली संस्कृति र नारी सशक्तीकरणको सन्देशलाई विश्वमाझ पुर्याउने लक्ष्य राखेको छ ।





