कलाशैली संवाददाता । फिल्म ‘अभिमन्यु : च्याप्टर–१’ को नयाँ गीत ‘माली’ सार्वजनिक भएको छ । ‘माली’ बोलको यो भावुक गीतमा दाजु र बहिनीबीचको निश्चल माया र जिम्मेवारीको कथा समेटिएको छ । गीतमा शब्द, सङ्गीत र स्वर प्रशान्त शिवाकोटीको रहेको छ । विषम आचार्यले सङ्गीत संयोजन गरेको यस गीतले बहिनीको खुसीमा आफ्नो संसार देख्ने जिम्मेवार दाजुको कथालाई सुन्दर रूपमा प्रस्तुत गरेको छ । रक्षाबन्धनलाई मध्यनजर गर्दै सार्वजनिक गरिएको यो गीतले दर्शकको मन छुने अपेक्षा गरिएको छ ।
गीत सार्वजनिक गर्दै निर्माण पक्षले एउटा भिडियो प्रतिस्पर्धाको पनि घोषणा गरेको छ । निर्माण टिमले दाजुभाइ र दिदीबहिनीहरूलाई रक्षाबन्धनको राखी बाँधेको भिडियो बनाएर सामाजिक सञ्जालमा सेयर गर्न आग्रह गरेको छ । यस प्रतिस्पर्धामा उत्कृष्ट ३ भिडियोलाई क्रमशः ५० हजार, ३० हजार र १५ हजार रुपैयाँ को नगद पुरस्कार दिइनेछ ।
सुशान्त गौतमले निर्देशन गरेको यो फिल्म उनको डेब्यु निर्देशन हो । सेभेन सिज सिनेमाको प्रस्तुतिमा बनेको ‘अभिमन्यु : च्याप्टर–१’ आगामी भदौ २७ गते नेपालमा रिलिज हुँदैछ । यसको हिन्दी संस्करण भने असोज ६ (सेप्टेम्बर २२) मा विश्वव्यापी रूपमा प्रदर्शन हुने निर्माता विनोद पौडेलले जानकारी दिएका छन् ।
फिल्मको मुख्य भूमिकामा कामेश्वर चौरासिया, सरिता गिरी, गौमाया गुरुङ, लक्ष्मी बर्देबा, शिशिर वाङ्देल, किरण श्रेष्ठ, प्रकाश दाहाल र सुष्मा निरौला लगायतका कलाकारहरू छन् । फिल्मको लेखन मुकेश खनालले गरेका हुन् भने मदन थापा यसका क्रिएटिभ निर्देशक हुन् । ‘अभिमन्यु : च्याप्टर–१’ का निर्माताहरूमा विनोद पौडेल र गुञ्जन गिरी रहेका छन् । रमेश चौलागाईं र हरि श्रेष्ठ सह-निर्माता हुन् । यसैगरी, कार्यकारी निर्मातामा विशाल लामा, हरि मोक्तान, कृष्ण भट्टराई, नीराजन लुइँटेल र सन्देश श्रेष्ठ रहेका छन् ।





