कलाशैली संवाददाता । चलचित्र विकास बोर्डले काभ्रेपलाञ्चोकको वनेपा नगरपालिका–१०, जनगलमा निर्माण गर्न लागिएको अत्याधुनिक इनडोर फिल्म स्टुडियो ‘सिनेपा:’ को दोस्रो चरणको निर्माणका लागि बोलपत्र आह्वान गरेको छ । प्रकाशित सूचनाअनुसार, इच्छुक निर्माण कम्पनीहरूलाई ३० दिनभित्र ई–बिडिङ प्रणालीमार्फत प्रस्ताव पेश गर्न आह्वान गरिएको छ ।
सहभागी कम्पनीहरूले रु. ३६,००,००० को बोलपत्र सुरक्षा रकम र रु. १०,००० को दस्तावेज शुल्क बुझाउनुपर्नेछ । यसअघि २०८१ माघ २७ गते बोर्डले पहिलो चरणको टेन्डर आह्वान गरेको थियो । बोर्डका अध्यक्ष दिनेश डिसीका अनुसार, ‘सिनेपा:’ नेपालको सबैभन्दा ठूलो इनडोर फिल्म सुटिङ स्टुडियो हुनेछ । निजी क्षेत्रमा केही स्टुडियोहरू भए पनि सरकारी स्वामित्वमा यस्तो स्टुडियो पहिलोपटक निर्माण हुन लागेको हो ।४२ रोपनी क्षेत्रफलमा बन्ने यो स्टुडियोले स्वदेशी फिल्म निर्माताहरूलाई प्रविधियुक्त, गुणस्तरीय र लागत–मैत्री छायांकन स्थल प्रदान गर्नेछ ।
‘सिनेपा:’ को निर्माणले नेपाली फिल्म उद्योगमा आधुनिक सुटिङ पूर्वाधारको अभाव पूर्ति गर्दै अन्तर्राष्ट्रिय मापदण्डको वातावरण सिर्जना गर्ने अपेक्षा गरिएको छ।





