कलाशैली संवाददाता । भारतीय अभिनेता तथा निर्माता आमिर खानले आफ्नो पछिल्लो फिल्म ‘सितारे जमीन पर’लाई ओटीटीमा नभई सिधै युट्युबमा रिलिज गर्ने भएका छन् । दर्शकले १०० भारतीय रुपैयाँ (१ सय ६० नेपाली रुपैयाँ) तिरेर यो फिल्म युट्युबमा हेर्न सक्नेछन् । ‘मूभिज-अन-डिमान्ड’ मोडलमा रिलिज हुने यो फिल्म भारतसहित ३८ अन्तर्राष्ट्रियबजारमा उपलब्ध हुनेछ ।
भारतीय मिडियाका अनुसार यो फिल्मलाई आमिरले युट्युबमार्फत व्यापक दर्शकमाझ पुर्याउने योजना बनाएका छन् । गत महिना उनले फिल्म ओटीटीमा रिलिज नगर्ने बताएका थिए । युट्युब रिलिजको निर्णयलाई ओटीटी प्लेटफर्मलाई चुनौतीको रूपमा हेरिएको छ ।
युट्युब इन्डियाकी कन्ट्री प्रबन्ध निर्देशक गुञ्जन सोनीले प्लेटफर्मको व्यापक पहुँचलाई यो साझेदारीको प्रमुख कारण बताएकी छन् । फिल्ममा प्रमुख भाषाहरूमा सबटाइटल र डबिङ सुविधा उपलब्ध हुनेछ ।आमिरका आगामी प्रोजेक्टमा सनी देओल र प्रीति जिन्टा अभिनीत ‘लाहोर १९४७’ र जुनैद खान र साई पल्लवी अभिनीत ‘एक दिन’ छन् । यी दुवै फिल्म आमिर खान प्रोडक्सनको ब्यानरमा बन्नेछन् ।





