कलाशैली संवाददाता । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाललाई फिल्म पर्यटनको आकर्षक गन्तव्य का रूपमा विकास गर्नुपर्ने बताएका छन् । सोमबार राष्ट्रिय एवम् विशेष फिल्म पुरस्कार तथा सम्मान समारोह लाई सम्बोधन गर्दै उनले हिमाल, पहाड र तराईको अनुपम भौगोलिक अवस्थितिले नेपाल आफैंमा एउटा प्राकृतिक फिल्म स्टुडियो का रूपमा रहेको बताए । यसबाट फिल्म उद्योग सँगसँगै रोजगारी, पर्यटन र राष्ट्रिय अर्थतन्त्रको विकासमा समेत सकारात्मक योगदान पुग्ने विश्वास उनले व्यक्त गरे ।
राष्ट्रपति पौडेलले फिल्मका माध्यमबाट राष्ट्रिय लोककला, कथा, गीत, सङ्गीत, भाषा, साहित्य, संस्कृति, सांस्कृतिक पहिचान, राष्ट्रियता, मौलिकता, विविध जातजाति र भाषाभाषीका पहिचान जस्ता विषयहरूलाई सशक्त रूपमा अभिव्यक्त गरिने बताए । उनले भने, ‘पछिल्लो समयमा आदिवासी जनजातिलगायतका कला, भाषा, भेषभूषा, संस्कार र संस्कृतिका कथाले पाएको प्राथमिकताले फिल्म उद्योगमा समावेशिता, पहिचान र विविधता को पक्षलाई सबल बनाउँदै लगेको छ ।’
राष्ट्रपति पौडेलले कलात्मक, सन्देशमूलक र समयसापेक्ष नेपाली मौलिकताको विशेषतासहितको फिल्म बनाएर विश्वव्यापीकरण र सूचना प्रविधिको युगमा विश्वका दर्शकसामु पुग्ने प्रयासमा जुट्नुपर्नेमा जोड दिए । उनले गुणस्तरीय पक्षलाई जोड दिएर बजारीकरणका लागि नेपाली फिल्मको अन्तर्राष्ट्रियकरणमा पनि ध्यान जानु जरुरी रहेको स्पष्ट पारे । उनले थपे,‘नेपाली फिल्मको विकास, विस्तार र समृद्धिको यात्रामा सरकार, नीति निर्माता, फिल्मकर्मी र सरोकारवाला सबै हातेमालो गरेर अघि बढ्नु हाम्रो साझा दायित्व हो ।’
मानव समुदायलाई प्रभावित र प्रेरित गर्ने फिल्मको महत्त्व आधुनिक युगमा पनि उत्तिकै रहेको बताउँदै उनले कलात्मकरूपमा मानवीय जीवन र जगत्का विविध पक्षलाई अभिव्यक्त गर्ने शैली र माध्यमका रूपमा यसको महत्त्व र विशिष्टता सदैव रहँदै आएको उल्लेख गरे ।
राष्ट्रपति पौडेलले मौलिकता, सिर्जनात्मकता र स्वस्थ मनोरञ्जनसहित सूचना, शिक्षा र प्रेरणा प्रदान गर्नमा फिल्मको महत्त्व रहने भन्दै संख्यात्मकसँगै आधुनिक प्रविधिको प्रयोग गरी गुणात्मक, स्तरीय र प्रतिस्पर्धी फिल्म निर्माणमा ध्यान जानु आवश्यक रहेको बताए। उनले सीमित बजारबाट हुर्केको फिल्मको बजार आज जुन रूपमा विकास र विस्तार हुनु खुसीको विषय भएको स्पष्ट पारे ।





