कलाशैली संवाददाता । चलचित्र विकास बोर्डले सोमबार राष्ट्रपति कार्यालयमा आयोजित विशेष समारोहमा वरिष्ठ निर्देशक लक्ष्मीनाथ शर्मालाई ‘फिल्म दीर्घसाधना सम्मान २०८२’ प्रदान गरेको छ । ‘राष्ट्रिय एवं विशेष फिल्म पुरस्कार तथा दीर्घसम्मान २०८२’ कार्यक्रममा निर्देशक शर्मालाई नगद ३ लाख ७५ हजार रुपैयाँसहित सम्मान गरिएको हो ।
चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले फिल्म क्षेत्रमा निरन्तर योगदान पुर्याउनेलाई प्रोत्साहन गर्न यस्ता पुरस्कार र सम्मान प्रदान गरिएको बताए । उनले भने, ‘हामीले फिल्मकर्मीको कामलाई प्रोत्साहन गर्न विशेष समारोह आयोजना गरी सम्मान र पुरस्कार प्रदान गर्छौं । मैले अध्यक्षको पदभार सम्हालेदेखि फिल्म ऐन, स्टुडियो निर्माण र बक्सअफिसको पूर्ण कार्यान्वयन गर्ने लक्ष्य पूरा गरेको छु । यो वर्ष हामी क्षमता र दक्षता अभिवृद्धिका लागि काम गरिरहेका छौँ।’
समारोहमा ‘विशेष योगदान सम्मान’अन्तर्गत मरणोपरान्त प्रकाश व्यवस्थापक (लाइटम्यान) स्वर्गीय श्रवण मास्केलाई ५० हजार नगदसहित सम्मान प्रदान गरियो । उनको भाइ सञ्जीव मास्केले सम्मान ग्रहण गरे । यसबाहेक अभिनेता निखिल उप्रेती, सुरक्षा पन्त, उत्तम केसी, प्रेम सुब्बा, गायिका देविका बन्दना, छायाँकार दीर्घ गुरुङ, नाट्यकर्मी अनुप बराल, निर्देशक परशुराम चौधरी र प्रदर्शक नकिम उद्दीनलाई पनि ‘विशेष योगदान सम्मान’ प्रदान गरियो ।

गत वर्ष २०८१ मा प्रदर्शन भएका फिल्मबाट ९ विधामा २५ हजार नगदसहित पुरस्कार प्रदान गरियो । पुरस्कृत हुनेमा उत्कृष्ट फिल्म ‘शाम्बाला’, उत्कृष्ट अभिनेता विजय बराल (‘पूर्णबहादुरको सारङ्गी’), उत्कृष्ट अभिनेत्री उपासना सिंह ठकुरी (‘खुस्मा’), उत्कृष्ट निर्देशक मीनबहादुर भाम (‘साम्बाला’), उत्कृष्ट सम्पादक भरत रेग्मी (‘पुजार सार्की’), उत्कृष्ट छायाँकार पुष्पोत्तम प्रधान (‘पिताम्बर’), उत्कृष्ट लेखक दीपक राज गिरी (‘छक्का पञ्जा ५’), उत्कृष्ट आदिवासी मातृभाषी फिल्म ‘गालय् वन’ (नेवारी भाषा) र प्रोत्साहन पुरस्कार अभिनेता प्रदीप खड्का (‘पुजार सार्की’) लाई प्रदान गरियो ।
यस्तै, ‘विशेष चलचित्र पुरस्कार’ लिम्बू भाषाको फिल्म ‘याक्कथुङ’ र मगर भाषाको फिल्म ‘दिलसरा’ लाई प्रदान गरियो । यी दुवै फिल्मले जनही २ लाख रुपैयाँ नगद प्राप्त गर्नेछन् ।





