कलाशैली संवाददाता । हास्य कलाकार केदार घिमिरे (माग्ने बुढा) र अभिनेत्री वर्षा सिवाकोटीको मुख्य भूमिका रहेको फिल्म ‘माग्ने राजा’ को पहिलो गीत ‘त्यो मिठो जोवन’ सार्वजनिक भएको छ । मंगलबार सार्वजनिक भएको यो डान्सिङ नम्बरमा दीपक शर्माको शब्द तथा संगीत रहेको छ भने रचना रिमाल र सविन सुवेदी ले स्वर दिएका छन् ।
कविराज गहतराज को कोरियोग्राफी रहेको गीतको भिडियोमा केदार घिमिरे र वर्षा सिवाकोटी फिचर्ड छन् । भिडियोको निर्माण उत्कृष्ट बनेकाले दर्शकको मन जित्ने अपेक्षा गरिएको छ । यस गीतको भिडियोलाई मित्र डी गुरुङले सम्पादन गरेका हुन् ।
यो फिल्मबाट निर्देशक ऋषि लामिछाने आठ वर्षपछि निर्देशनमा फर्किएका छन् । निर्देशक लामिछानेले ‘माग्ने राजा’ ले अहिलेको अवस्थामा आफूलाई राजाको रूपमा प्रस्तुत गर्ने युवापुस्ताको कथा देखाउने बताए । यो फिल्मका प्रस्तुतकर्ता तथा निर्माता मुनाल घिमिरे पनि ‘इच्छा’ रिलिजको लामो समयपछि निर्माणमा फर्किएका छन् । उनी हाल दाङको घोराही उपमहानगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष समेत हुन् ।
आरम्भ प्रोडक्सनको ब्यानरमा निर्माण हुने यो फिल्ममा केदार घिमिरे र वर्षा सिवाकोटीसहित पुष्कर गुरुङ, शिशिर वाङ्देल, शारदा गिरी र टिकटक मोडल पवित्रा साकी उर्फ मिस पबीको अभिनय रहेको छ । यस फिल्ममा अभिनेता आर्यन सिग्देलको पनि विशेष भूमिका रहेको छ ।
आरआर फिल्मस्ले वितरण गर्ने यो फिल्ममा नरेन्द्र मैनालीको छायांकन, सामिप्यराज तिमल्सेनाको कथा, पटकथा तथा संवाद र दीपक शर्मा बाबुल गिरीको संगीत रहेको छ ।





