कलाशैली संवाददाता । सर्वकालीन ब्लकबस्टर फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ फेम्ड निर्देशक सरोज पौडेलको नयाँ फिल्म ‘कोशेढुंगा’ को छायांकन ५१ दिनमा सकिएको छ । सोमबार मकवानपुरको चित्लाङ, मार्खुलगायत क्षेत्रमा गीतको छायांकन गर्दै फिल्मको सुटिङ पूरा भएको हो । यसअघि ललितपुरको च्यासलस्थित सेटबाट छायांकन सुरु गरिएको ‘कोशेढुंगा’ गण्डकी प्रदेशको स्याङ्जाको आधिखोला, त्रिवेणी र सिरुवारी क्षेत्रमा पनि खिचिएको थियो ।
निर्माण पक्षले ‘कोशेढुंगा’ को रिलिज मिति भदौ १२ गते लाई तय गरेको छ । नेपालसहित ४० भन्दा धेरै देशमा यो फिल्म एकसाथ रिलिज हुने भएको छ । प्याट्रिक सुवेदी र रमेश ढकाल को सेभेन सिज इन्टरनेशनलले अन्तर्राष्ट्रिय बजारमा यसको वितरण गर्दैछ ।
‘पूर्ण बहादुरको सारङ्गी’ जस्तो सफल फिल्म निर्देशन गरेका पौडेलको ‘कोशेढुंगा’ प्रतिक्षित बनेको छ । निर्माण घोषणादेखि नै दर्शकमा उत्सुकता र अपेक्षा दुवै बढाएको ‘कोशेढुंगा’ को निर्माण पक्षले छायांकनकै क्रममा ‘फर्स्ट लुक्स पोस्टर’ का रूपमा फिल्मकी मुख्य कलाकार सुरक्षा पन्त फिचर्ड रहेको तस्बिर सार्वजनिक गरेको थियो ।
कार्यकारी निर्माता दिनेश खड्काले दर्शकमा रहेको अपेक्षा ‘कोशेढुंगा’ ले पूरा गर्ने बताए । फिल्मको कथा र छायांकनमा भएको मेहनतले दर्शक निराश नहुनेमा आफू ढुक्क रहेको उनको भनाइ छ । नरदेवी फिल्म्स को प्रस्तुति रहेको ‘कोशेढुंगा’ मा अभिनेत्री सुरक्षा पन्त, आर्यन सिक्देल, ऋचा शर्मा, मन्जिल कुमार, नीति शाह, प्रवीण खतिवडा, हिउवाला गौतम, सरोज खनाल, विशाल पहाडी, दिनेश काफ्ले, लोकमणि सापकोटा लगायतको अभिनय रहेको छ ।
फिल्मका निर्मातामा प्रेविल कँडेल र किशोर अनुराग छन् । कार्यकारी निर्माता दिनेश खड्का हुन् । बाबु श्रेष्ठले छायांकन गरिरहेको यो फिल्ममा नहकुल खड्काको सम्पादन, आशिष अविरल र रिदम कँडेलको संगीत छ ।





