कलाशैली संवाददाता । निर्माणको क्रममा रहेको फिल्म ‘जहाजैमा’ को प्रदर्शन मिति तय गरिएको छ । छायांकन सुरु हुनुभन्दा दुई महिनाअगाडि नै निर्माण पक्षले फागुन १ गते लाई प्रदर्शन मिति घोषणा गरेको हो । यो फिल्म आर.आर फिल्म्ससँगको सहकार्यमा फागुन १ गतेदेखि रिलिज हुनेछ, जसको वितरण रोहित कट्टेल र रत्न श्रेष्ठले गर्नेछन् ।
कृषा चौलागाईं को निर्देशनमा बन्ने यो फिल्मको कथा अभिमन्यू निरवी ले लेखेका हुन् भने पुरुषोत्तम प्रधान प्रमुख छायाकार (डीओपी) रहनेछन् । फिल्ममा केदार घिमिरे, सौगात मल्ल र जापानी नायिका रुजेल इचिमिया मुख्य भूमिकामा फाइनल भइसकेका छन् । अन्य कलाकारहरू पनि छनोटको अन्तिम चरणमा रहेको निर्माण पक्षले जनाएको छ ।
फिल्मको छायांकन आगामी भदौबाट जापानमा सुरु हुनेछ । हाल फिल्मको ‘प्रि-प्रोडक्सन’ को काम तीव्र रूपमा अगाडि बढिरहेको छ । उज्ज्वल गुरागाईंको निर्माणमा यूएनए प्रोडक्सनको ब्यानरमा यो फिल्म तयार हुँदैछ । ‘जहाजैमा’ लाई नेपाल, जापान र फिलिपिन्समा छायांकन गरिनेछ ।





