कलाशैली संवाददाता । नेपाली भाषा, संस्कृति, र पहिचानको जगेर्ना गर्ने उद्देश्यले बनेको फिल्म ‘यो मन त मेरो नेपाली हो’ यही असार २७ गते प्रदर्शन हुँदैछ । भुटानबाट नेपाल हुँदै अमेरिका पुगेका नर प्रधान (मित्र) को लेखन र निर्देशन रहेको यो फिल्मले विश्वभर छरिएका नेपालीहरूको कथा र भावनालाई चित्रण गर्छ । लेखक तथा निर्देशक प्रधान १७ वर्षअघि नेपाल छाडेर अमेरिका गएका थिए । भुटानमा जन्मिएका उनको बाल्यकाल र शिक्षादीक्षा नेपालमै भएको थियो ।
अमेरिकाको व्यस्त जीवनले नेपाली संस्कृतिसँगको सम्बन्धमा दूरी बढाएको अनुभव गरेपछि उनले यो फिल्म बनाए । ‘हाम्रो भाषा र संस्कृति जोगाएनौं भने भावी पुस्ताले यो धरोहर गुमाउनेछ’, उनले भने । नेपालको पाठ्यक्रम विकास केन्द्रले यो फिल्मलाई विद्यालयस्तरका बालबालिकालाई देखाउन उपयुक्त ठहराएको छ, जसले निर्देशकलाई थप प्रेरणा मिलेको छ । केन्द्रले फिल्मको देशभक्तिपूर्ण सन्देश र सांस्कृतिक महत्त्वको प्रशंसा गर्दै निर्माण टिमलाई धन्यवाद दिएको छ ।
साथै, यस्ता फिल्मलाई राज्य र सम्बद्ध संस्थाहरूले संरक्षण र संवर्द्धन गर्नुपर्ने सुझाव दिएको छ । फिल्मले भुटानबाट खेदिएका नेपालीहरूको कथालाई विशेष रूपमा उठाए पनि विश्वभरका नेपालीहरूको साझा भावनालाई समेट्छ ।
‘यो फिल्म नेपालीहरूका लागि मात्र होइन, विदेशीहरूलाई पनि हाम्रो संस्कृति बुझाउने प्रयास हो’, निर्देशक प्रधानले भने । अमेरिकामा चार स्थानमा प्रदर्शन गर्दा दर्शकहरूले नेपाली भाषा र संस्कृति संरक्षणमा जोड दिएको उनले बताए । ‘यो फिल्म एउटा अभियान हो । हाम्रा पूर्खाले जोगाएको सम्पदा भावी पुस्तालाई हस्तान्तरण गर्नुपर्छ’, उनले थपे ।
विदेशमा रहेका नेपालीहरूले व्यस्तताले भाषा र संस्कृति बिर्सँदै गएको उनको अनुभव छ। यो फिल्मले नेपालीपनप्रति माया र एकताको सन्देश दिन खोज्छ ।प्रधानले यो फिल्मलाई व्यावसायिकभन्दा सांस्कृतिक उपहारको रूपमा लिएका छन् । फिल्ममा विजय बराल, रोशन श्रेष्ठ, विल्सन विक्रम राई, बुद्धि तामाङ, आयुषा समाल, नारायण खाती, भुपेन्द्र लिङ्देन, सुवास भण्डारी, विजय सुब्बा, र विजिता परियारलगायतको अभिनय छ ।