कलाशैली संवाददाता । निर्देशक जौन योञ्जनको फिल्म ‘आँखा’ ले इटालीमा दुई महत्त्वपूर्ण अन्तर्राष्ट्रिय अवार्ड जितेको छ । २९औँ अन्तर्राष्ट्रिय पोलिस अवार्ड आर्ट्स फेस्टिभल (IPAAFF) मा ‘आँखा’ ले उत्कृष्ट फिल्म र उत्कृष्ट अभिनेत्रीको अवार्ड हात पारेको हो । फिल्मकी मुख्य अभिनेत्री स्मिता लामिछानेले उत्कृष्ट अभिनेत्रीको उपाधि जितेकी छिन् । उनले अवार्ड जितेको खबर आफ्ना लागि अप्रत्याशित रहेको बताइन ।
‘मैले यो खबर अपेक्षा गरेको थिइन्, तर मेहनतको फल पाइने रैछ । यो अवार्ड मसँगै नेपाल आउनु सुखद समाचार हो’, उनले भनिन् । अवार्ड समारोह सेप्टेम्बर १४ मा इटालीको बिर्गामोमा हुँदैछ ।
‘आँखा’ ले यसअघि नेपाल अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल (NIFF) मा पनि तीन विधामा अवार्ड जितेको थियो । यो फिल्म गत असोज ११ गते रिलिज भएको थियो, तर बाढीपहिरोका कारण त्यसबेला फिल्मको प्रदर्शन प्रभावित भएको थियो । निर्देशक योञ्जनको अर्को फिल्म ‘म राजेश हमाल’ छिट्टै रिलिज हुँदैछ ।