कलाशैली संवाददाता । चर्चित गायिका एलिना चौहान र समीक्षा अधिकारीले गृहमन्त्री रमेश लेखकलाई भेटेर साइबर क्राइम सम्बन्धी मुद्दामा सहयोगको लागि आग्रह गरेका छन् । यस भेटमा गृहमन्त्री लेखकले उनीहरूलाई पूर्ण सहयोग र साथ दिने आश्वासन दिएको एलिना चौहानले सामाजिक सञ्जालमार्फत जानकारी दिएकी छिन् ।
गृहमन्त्री लेखकसँगको तस्बिर सेयर गर्दै एलिना चौहानले फेसबुकमा लेखेकी छिन्,‘अस्तित्वको सुरक्षा गर्ने अधिकारले उठाइएको कदममा आवश्यक सहयोग प्रदान गर्नु भएकोमा माननीय गृहमन्त्री रमेश लेखकज्यूलाई विशेष धन्यवाद ।’
उनले थप लेख्दै भनेकी छिन्, ‘म यहाँसम्म तपाईँहरूको माया र साथले आइपुगेकी हुँ । तपाईँहरूको समर्थन नै मेरो आत्मबल हो । तर सबैले सधैँ राम्रै सोचुन् भन्ने अपेक्षा गर्न सकिन्न, त्यो स्वाभाविक हो । तर जब कुराहरू व्यक्तिगत जीवनमा आँच पुर्याउने तहमा पुग्छन्, गालीगलौज र चरित्र हत्या जस्ता कार्यहरू भइरहन्छन्, त्यो सह्य हुँदैन ।’
यो भेटघाट दुई गायिकाले साइबर दुर्व्यवहारबाट आफूहरू पीडित भएको भन्दै यसअघि नै साइबर ब्युरोमा उजुरी दर्ता गराएपछि भएको हो । यसले साइबर क्राइम नियन्त्रणमा सरकारको थप सक्रियताको अपेक्षा बढाएको छ ।