कलाशैली संवाददाता । निर्देशक तथा लेखक विकास सुवेदीको नयाँ फिल्म ‘यानी माया’ मा मोडल अञ्जना पुन मगर ले मुख्य अभिनेत्रीको रूपमा अभिनय गर्ने भएकी छिन् । दुई दर्जनभन्दा बढी म्युजिक भिडियोमा काम गरिसकेकी उनले यही फिल्मबाट ठूलो पर्दामा डेब्यु गर्न लागेकी हुन् । अडिसनमार्फत निर्माण टिमले छनोट गरेकी अञ्जनाले फिल्ममा अभिनेता पल शाहको जोडी बनेर देखिनेछिन् ।
अञ्जना पुन मगर मोडलिङ क्षेत्रमा स्थापित नाम हो । उनले ‘मिस मगर हङकङ २०१४’ र ‘मिस हङकङ नेपाल २०२३’ जस्ता उपाधिहरू जितिसकेकी छिन् । सन् २०२४ को ‘मिस नेपाल प्रतियोगिता’ मा उनले ‘मिस रियल पपुलर च्वाइस’ र ‘मिस डिलाइटफुल ह्याप्पी इन्टेलिजेन्स’ अवार्ड प्राप्त गरेकी थिइन् । ‘मायालाई पानको पात’ गीतमा अभिनय गरेपछि चर्चामा आएकी उनले पल शाहसँग केही म्युजिक भिडियोमा यसअघि पनि काम गरिसकेकी छिन्।
निर्देशक सुवेदीका अनुसार, ‘यानी माया’ मा अन्तरपुस्ता द्वन्द्व, आधुनिकता र परम्पराको दोलन, सहरी जीवन र प्रकृतिको सङ्घर्ष जस्ता विषयवस्तुहरूलाई समेटिनेछ। फिल्मको ट्यागलाइन ‘सङ्स अफ माई ग्रान्डमदर’ राखिएको छ । फिल्मको छायांकन आगामी साउनमा बागलुङको ढोरपाटनबाट सुरु गरिनेछ । पहिलो चरणको छायांकनपछि दोस्रो चरणको छायांकनका लागि निर्माण पक्ष हङकङ जाने तयारीमा छ ।
यो फिल्मबाट पल शाहले निर्माण क्षेत्रमा पनि हात हाल्न लागेका छन्। पल शाह फिल्म्सको ब्यानरमा बन्न लागेको यो फिल्ममा पलसँगै चन्द्रज्योति आले निर्माताको रूपमा रहेकी छिन् ।