कलाशैली संवाददाता । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपाली फिल्म ‘आमा’ को पोस्टर हुलाक टिकटमा अङ्कित गरिनुलाई ऐतिहासिक कदमको संज्ञा दिएका छन्। नेपाल चलचित्र विकास बोर्डको २५औँ वार्षिकोत्सवको अवसरमा प्रदर्शनीमार्गस्थित पुलिस क्लबको सभाहलमा आयोजित कार्यक्रममा मन्त्री गुरुङले नेपाली फिल्मको इतिहासलाई हुलाक टिकटमार्फत अमर बनाइएको बताए ।
मन्त्री गुरुङले नयाँ बन्ने चलचित्र ऐन सबैको भावनालाई समेटेर कार्यान्वयनमा ल्याउने प्रतिबद्धता व्यक्त गरे । ‘राष्ट्रिय सभामा छलफलरत चलचित्र विधेयक प्रतिनिधिसभामा पनि छलफल हुनेछ। नयाँ ऐनले फिल्म क्षेत्रको समृद्धिमा योगदान पुर्याउने हाम्रो लक्ष्य छ। यो वर्ष हामी फिल्म क्षेत्रलाई व्यवस्थित बनाउन योजनाबद्ध रूपमा काम गरिरहेका छौँ’, उनले भने ।
कार्यक्रममा मन्त्री गुरुङले हुलाक टिकटको प्रथमदिवसीय आवरणमा टाँचा प्रदान गरे । सञ्चार मन्त्रालयकी सचिव राधिका अर्यालले बोर्डको २५औँ वार्षिकोत्सव मन्त्रालय र बोर्ड दुवैका लागि विशेष रहेको बताइन।
हुलाक सेवा विभागकी महानिर्देशक मनमाया भट्टराई पंगेनीले फिल्म ‘आमा’ को ऐतिहासिक महत्वलाई हुलाक टिकटमार्फत विश्वभर पुर्याउने बताइन। बोर्डका अध्यक्ष दिनेश डिसीले बोर्डले योजनाबद्ध रूपमा काम गरिरहेको र ८ महिनामा महत्वपूर्ण उपलब्धि हासिल गरेको उल्लेख गरे । अध्यक्ष डिसीले बोर्डबाट फिल्म दर्ता, जाँच सिफारिसलगायत ३३ सेवा अनलाइनबाट उपलब्ध हुने र ‘बक्सअफिस @सिनेपा’ एपमार्फत फिल्मको व्यापार पारदर्शी बनाइने जानकारी दिए ।
‘हामीले देशभरका १६६ फिल्म हललाई यो एपमा जोडेका छौँ। यसले निर्माता, वितरक र प्रदर्शकबीचको सम्बन्धलाई थप सुदृढ बनाउनेछ। टिकट बिक्रीको जानकारी निर्माताले तत्काल प्राप्त गर्नेछन्’, उनले भने ।
कार्यक्रममा बोर्डका पूर्वअध्यक्ष शम्भुजित बाँस्कोटा, प्रथम अभिनेत्री भुवन चन्द, अभिनेत्री चैत्य देवी, बसुन्धरा भुसाल, दीपकराज गिरी, दीपाश्री निरौला, निर्मल शर्मा, रमेश उप्रेती, महेश त्रिपाठी, दयाहाङ राई, विजय बराल, निश्चल बस्नेत, स्वस्तिमा खड्का, केकी अधिकारी, बुद्धि तामाङ, रवीन्द्रसिंह बानियाँ, म्याक्स दीपश खत्री, प्रदीप भट्टराई, दीपेन्द्र लामा, विराज भट्ट, गजित भट्टलगायत फिल्मकर्मीको उपस्थिति थियो ।