कलाशैली संवाददाता । प्रत्येक वर्ष असोज १५ गते ‘राष्ट्रिय चलचित्र दिवस’ को रूपमा मनाइने भएको छ। नेपाल चलचित्र विकास बोर्डको २५औँ वार्षिकोत्सवको अवसरमा सोमबार आयोजित कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले यो घोषणा गरेका छन् । असार १३ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार यो घोषणा गरिएको उनले बताए ।
उनले नेपाली फिल्मको ६० वर्षको गौरवमय इतिहासलाई स्मरण गर्दै, पहिलो फिल्म ‘आमा’ को प्रदर्शन मितिलाई आधार मानेर असोज १५ लाई ‘राष्ट्रिय चलचित्र दिवस’ घोषणा गरेको प्रस्ट्याए । यो दिवसले नेपाली फिल्मको इतिहासलाई उत्सवको रूपमा निरन्तर मनाउने अवसर प्रदान गर्ने मन्त्री गुरुङको विश्वास छ ।