कलाशैली संवाददाता ।नेपाली फिल्ममा अभिनयको लामो अनुभवलाई अभिनेत्री तथा निर्मात्री नीता ढुंगाना (अधिकारी) ले निर्देशनमा प्रयोग गर्ने भएकी छिन् । उनले आफ्नो नयाँ फिल्म ‘सुख दुःख’ बाट निर्देशनमा डेब्यु गर्ने भएकी हुन् । शनिबार नीताले फिल्मको घोषणा गर्दै सार्वजनिक गरेको थिम पोस्टरमा उनको नाम निर्देशकका रूपमा उल्लेख छ । उनले फिल्मको प्रदर्शन मिति पनि तय गरेकी छिन्, जसअनुसार ‘सुख दुःख’ अर्को वर्षको दशैंमा प्रदर्शन हुनेछ।
नीता फिल्म्सको ब्यानरमा बन्न लागेको यो फिल्ममा कलाकारको लाइनअप भने अझै तयार भइसकेको छैन । यतिबेला स्क्रिप्ट लेखनको काम भइरहेको जनाइएको छ । नीताले ‘सुख दुःख’ बाट निर्देशक बन्ने आफ्नो सपना पूरा गर्दै छिन् ।
बाल कलाकारको रूपमा फिल्म ‘मितिनी’ बाट अभिनय करियर सुरु गरेकी नीताले अहिलेसम्म ५० बढी फिल्ममा काम गरिसकेकी छिन् । यसको मतलब अभिनयमा उनको लामो अनुभव छ । त्यही अनुभवको सहारामा उनले ‘सुख दुःख’ को निर्देशन गर्न लागेकी हुन् ।