कलाशैली संवाददाता । नायक अनमोल केसीले आफ्नो नयाँ फिल्म ‘बाटुलो जुन’ को आजबाट छायांकन सुरु गरेका छन् । धादिङको काउलेबाट यो फिल्मको छायांकन प्रारम्भ भएको हो । पहिलो चरणमा केही दिन मात्र छायांकन हुनेछ भने बाँकी छायांकन भदौमा गर्ने तयारी निर्माण पक्षको छ । फिल्मको छायांकन सुरु भएसँगै निर्माण पक्षले नायक अनमोल केसी र नायिका प्रिन्सी खतिवडाको फर्स्टलुक पनि सार्वजनिक गरेको छ । सार्वजनिक लुकमा अनमोल दाह्री पालेर प्रिन्सीसँग केही हेरेर टोलाएको देख्न सकिन्छ । यी दुवैको लुक हेर्दा नायक भुवन केसी र नायिका तृप्ति नाडकरको झल्को आउने चर्चा छ ।
जीया केसीको लगानीमा बन्ने यो फिल्मको बजेट २५ लाख बताइएको छ । अंगुर खेतीमा फिल्म खिच्नुपर्ने भएकाले केही दिनका लागि यसको टिम धादिङको काउले पुगेको हो । फिल्ममा अन्य को-को कलाकार रहनेछन् भन्ने कुरा अझै खुलेको छैन । अनमोलको यो फरक लुकले दर्शकमाझ उत्सुकता पैदा गर्ने निश्चित छ । फिल्मका निर्देशक भुवन केसीले यसपटक दर्शकले अनमोललाई यसअघि नदेखेको अवतारमा देख्न पाउने र यो विशेष हुने बताए ।