कलाशैली संवाददाता । द्वन्द्वकालमा घाइते भएका एक परिवारको कथामा आधारित रहेर निर्माण गरिएको फिल्म ‘सिटामोल’ आगामी साउन २३ गते देखि प्रदर्शनमा आउने भएको छ । निर्देशक राजबहादुर सानेले यो फिल्मले आफ्नो निर्देशन यात्रालाई फरक ढंगले परिभाषित गर्ने दाबी गरेका छन्।
निर्देशक सानेले भने, ‘विगतमा मैले गरेको कामभन्दा यो निकै फरक छ । यसपटक मैले रोजेको कथा र त्यसमा लेखिएका चरित्रलाई जीवन्त बनाउनुभएका कलाकारले गर्दा म भिन्न रूपमा आएको छु । यो फिल्मले माओवादी द्वन्द्वकालमा घाइते भएको एक व्यक्ति र उसको परिवारको कथालाई समेटेको छ।’ उनले फिल्मको छायांकन सिन्धुलीमा गरिएको जानकारी दिए ।
अभिनेता सौगात मल्लले पनि फिल्मसँग जोडिनुको कारण यसको विषयवस्तु र युद्ध लडेको लडाकुको जीवनसँगको सङ्घर्ष रहेको बताए । फिल्ममा अभिनेता सौगात मल्लसँगै अभिनेत्री बेनिशा हमाल, श्रीकृष्ण निरौला, जानुका विश्वकर्मा, लोकेन्द्र लेखक, भूगोल कार्की, हिउँवाला गौतम, सुशील पोखरेल, दिनेश रेग्मी लगायतका कलाकारले अभिनय गरेका छन् । फिल्मको कथा निर्देशक सानेसँगै प्रदीप भारद्वाजले लेखेका हुन् ।