कलाशैली संवाददाता । आगामी साउन २३ गते प्रदर्शनमा आउने फिल्म ‘मोहर’ ले देवीदेवताको सेवाका नाममा कन्या बालिकालाई ‘देउकी’ बनाउने जस्ता अन्धविश्वासविरुद्ध जनचेतना जगाउने लेखक तथा निर्देशक ओम प्रतीकले जानकारी दिएका छन् । केही दिन अगाडी फिल्ममा समावेश शीर्षक गीत सार्वजनिक गर्न आयोजित कार्यक्रममा निर्देशक प्रतीकले बालिकामाथि हुने परम्परागत सामाजिक हिंसाका घटनालाई फिल्मले निरुत्साहित गर्ने सन्देश प्रवाह गर्ने बताए ।
निर्देशक ओम प्रतीकले भने, ‘मेरो जानकारीमा भएसम्म विसं २०७९ सम्म देउकी प्रथा चलेको छ । त्यसकारण पनि आजकै शैलीमा उक्त कथालाई भनेका छौँ । अहिले विभिन्न बहानामा बालिकामाथि हुने गरेको हिंसालाई बन्देज गर्नुपर्छ भन्ने सन्देश फिल्मले प्रवाह गर्छ ।’
उनले फिल्मका माध्यमले धेरै तथ्यलाई बुझाउन सहज भएकाले ‘मोहर’ को विषयवस्तु छनोट गरेको जानकारी दिए । फिल्ममा पल शाह, बेनिशा हमाल, नीति शाह, अर्जुनजङ्ग शाही, मिस पबि लगायतका कलाकारले अभिनय गरेका छन् । सामाजिक यथार्थ र विद्रोह मिसिएको कथावस्तुमा बनेको ‘मोहर’ ले दर्शकलाई निराश नबनाउने अभिनेत्री नीति शाहले बताएकी छन् ।
फिल्ममा भुपेन्द्र अधिकारीले सम्पादन, दिपेन बस्न्यातले छायाङ्कन, रामजी लामिछाने र कविराज गहतराजले नृत्य निर्देशन, कुमार महर्जनले द्वन्द्व निर्देशन गरेका छन् ।