कलाशैली संवादादता । टेलिशृङ्खलामा ‘माग्ने बुढा’ को उपनामले परिचित अभिनेता केदार प्रसाद घिमिरेले राज्यलाई कर तिर्नु कलाकारको दायित्व रहेको बताएका छन् । फिल्म ‘माग्ने राजा’ को केही दिन अगाडी आयोजित पत्रकार सम्मेलनमा उनले अन्य क्षेत्रका पेसाकर्मीझैँ कलाकारले पनि देश समृद्धिका लागि आफ्नो दायित्व पूरा गर्नबाट पछि हट्न नहुने बताए ।
घिमिरेले भने,‘मैले लिएको पारिश्रमिकको चर्चा भइरहँदा मैले आफ्नो दायित्व भुलेको छैन । म आफ्नो पारिश्रमिक बुझेपछि राज्यलाई तिर्नुपर्ने कर तिर्छु, किनकि देश विकासमा हामीले पनि अन्य पेसाकर्मीझैँ तत्परता र सहभागिता देखाउनु आवश्यक छ । हामीले आफ्नो दायित्व नभुले मात्र सरोकारवाला निकायलाई फिल्म क्षेत्रलाई समृद्ध बनाउने विषयमा झक्झक्याउन सक्छौँ ।’
उनले फिल्म ‘माग्ने राजा’ मा ६१ लाख रुपैयाँ पारिश्रमिक बुझ्ने चर्चा चलेपछि कलाकारको दायित्व र सुविधाको विषयमा कुरा गरेका थिए । उक्त फिल्मका निर्देशक ऋषि लामिछाने ले कलाकार घिमिरेको लगनशीलता र बजार मूल्य हेरेर पारिश्रमिक दिएको बताए । सामिप्यराज तिमल्सेना को लेखन रहेको यस फिल्ममा कलाकार घिमिरेसहित वर्षा शिवाकोटी, विल्सनविक्रम राई, आर्यन सिग्देल, पुष्कर गुरुङ, शिशिर वाङ्देल, शारदा गिरी लगायतले अभिनय गरेका छन्।
यो फिल्म कलाकार मुनाल घिमिरे ले निर्माण गरेका हुन् । उनका अनुसार, फिल्म आगामी भदौ ६ गते देखि नेपालसहित विदेशमा समेत प्रदर्शन हुनेछ ।