कलाशैली संवाददाता । नेपाली रङ्गपञ्च र फिल्म दुवैमा परिचित नाम सरोज खनालले आठ वर्षको अन्तरालपछि नाटक ‘मञ्जिराः द म्यूटेड मेलोडी’ मार्फत रङ्गपञ्चमा पुनरागमन गरे । ३० भन्दा बढी नाटक र सयभन्दा बढी फिल्ममा काम गरिसकेका खनाललाई लगातार फिल्ममा व्यस्त रहँदा आफ्नो अभिनयको अनुशासन कायम नभएको आभाष भएपछि दुई महिना समय निकालेर रङ्गपञ्चमा फर्किएका हुन् ।
विसं २०७४ मा ‘बाह्र दुर्वासा’ नामक नाटकमा अभिनय गरेपछि फिल्ममा व्यस्त भएका अभिनेता खनालले नाटकले दिएको सन्तुष्टि फिल्मले सायदै दिएको महसुस भएपछि उनी आफ्नो पात्रलाई नयाँ जीवन दिन दुई महिनादेखि नाटकमा मेहनत गरेका हुन् । फिल्ममा मेहनत नगर्ने होइनन्, तर समयसँगै उनी सह-अभिनेताको रूपमा प्रस्तुत भइरहेका छन् । आफूले पाएको भूमिकालाई निर्वाह गर्न खनाललाई पहिले जस्तो मेहनत गर्नुपर्दैन, न त निर्देशकले नै फरक किसिमले प्रस्तुत गर्ने जाँगर देखाउने गरेका छन् । दर्शकले रुचाइरहेकै स्वरूपमा निर्देशकले उनलाई पर्दामा ल्याइरहेका छन् । सोही कारण पनि अभिनेता खनालले नाटक गर्ने समय आयो भन्ने महसुस गरे ।
‘अहिले मैले फिल्ममा गर्ने काम भनेको सहायक अभिनेताको रूपमा हुने गरेको छ । त्यसका लागि निर्देशकले मलाई दिनुभएको भूमिकालाई निर्वाह गर्छु, फेरि दैनिक छायाङ्कन पनि हुँदैन । त्यसैले पात्रमै बाँच्नुपर्ने आवश्यकता हुँदैन, फेरि त्यहाँ एक पटक गरेको दृश्य सही भएन भने त्यसलाई अभ्यास गरेर पुनः गर्न पाइन्छ । त्यसले गर्दा हामीलाई प्राविधिक सहुलियत पनि छ, तर नाटकमा अवस्था भिन्न छ । जे हुन्छ, प्रत्यक्ष र दर्शकको अगाडि हुन्छ। त्यसैले हामीले यहाँ मेहनत गरेनौँ भने त्यसको परिणाम तुरुन्तै दर्शकमा देख्न पाइन्छ’, उनले भने ।
नाटकमा एउटा अभिनेताले एउटा पात्रलाई दुईदेखि तीन महिनासम्म बाँच्नुपर्ने हुन्छ । सुरुको केही दिन अभ्यास र त्यसपछि मञ्चनका क्रममा अभिनेताले निर्वाह गर्ने पात्रलाई नै जीवन मानिसकेका हुन्छन् । एउटा पात्रलाई दैनिक प्रस्तुत गर्दा त्यहाँ आत्मा बस्न थालेको हुन्छ । अर्थात् उक्त पात्रको सुखदुःखसँग कलाकार विस्तारै जोडिने गर्छन् ।
अभिनेता खनालले अभिनय गरिरहनुभएको नाटक ‘मञ्जिराः द म्यूटेड मेलोडी’ मा द्वन्द्वकालमा राज्यको चपेटामा परेर यौनहिंसा भोगेकी एक सर्वसाधारण महिलाको कथा देखाइएको छ । उक्त महिलासँग घटेको घटनाले मनोविज्ञानमा पारेको प्रभावले जो कसैलाई पनि असर गर्न सक्ने खनालको बुझाइ छ । उनले द्वन्द्वकालमा आफू बाहिर भएकाले पनि यस्ता घटना र पात्रलाई प्रत्यक्ष रूपमा सुन्न नपाएको बताए ।
द्वन्द्वको क्रूरता र भयावहलाई प्रस्तुत गर्दै न्याय प्रणाली र राज्यसँग प्रश्न गर्ने उक्त नाटकले युद्धले दिएको घाउको गहिराइ नाप्दै हिंसामा परेका महिलाको न्यायका लागि वकालत गर्छ । ती दृश्यलाई अभिनेता खनालले गर्न थालेको एक महिना पुग्नै लागिसक्यो, तैपनि उनका आँखा रसाउँछन् ।
‘म नाटकको अन्त्यतिरका दृश्यमा आफ्ना आँसुलाई रोक्न सक्दिनँ । किनकि मञ्जिरा जस्तै मनमा घाउ बढाएर बस्ने कति धेरै हुनुहुन्छ होला ? जसलाई कसैले सम्बोधन गरेको छैन, जसको कुनै सम्बन्ध द्वन्द्वसँग थिएन। जसले अहिले पनि आफ्नो लडाई लडी नै रहनुभएको छ’, अभिनेता खनालले भने ।
उनलाई द्वन्द्वसँग जोडिएका व्यक्ति वा यसका उपलब्धिमा रमाउने व्यक्तित्व नाटक हेर्न नआउँदा दुःख लागेको छ, तर नाटक हेर्न आइपुगेका सर्वसाधारणले दिइरहेको प्रतिक्रियाले उनी खुसी छन् । नाटकले दिएको सन्तुष्टिकै कारण अभिनेता खनाल अब वर्षमा कम्तीमा दुई नाटकमा अभिनय गर्ने योजनामा छन् । विगतमा फिल्मकै लागि नाटक छाड्नुभएका खनाल अब आउँदा दिनमा नाटकका लागि फिल्म छाड्ने मनस्थितिमा पुगेका छन् ।
अभिनयका नयाँ शैली र भावलाई बुझ्दै आफूभन्दा कनिष्ठ कलाकारसँग उही ऊर्जाका साथ काम गर्ने अठोटले अभिनेता खनाललाई पुनः रङ्गपञ्चमा ‘रहरिया’ भन्दा पनि मेहनती कलाकारको रूपमा परिभाषित गर्दैछ । किनकि रङ्गमञ्चमा आउने र काम गर्ने इच्छा धेरै कलाकारको हुन्छ, प्रयास पनि गर्छन् तर यहाँ चाहिने समर्पण, लगनशीलता र निरन्तरता कमै कलाकारमा देख्न पाइन्छ । पछिल्लो समय रङ्गपञ्चलाई फिल्मसम्म पुग्ने भर्याङ बनाउने कलाकारको भीडमा अभिनेता खनालले आफ्नो कलाकारिता बचाउन रङ्गपञ्च आएका छन् ।