कलाशैली संवाददाता । शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच फिल्म ‘यो मन त मेरो नेपाली हो’ को ट्रेलर सार्वजनिक गरिएको छ । फिल्मको ट्रेलरमा नेपाली भाषा, साहित्य, कला, यसको इतिहास र महत्त्वलाई विशेष रूपमा प्रस्तुत गर्ने प्रयास गरिएको छ । पत्रकार सम्मेलनमा बोल्दै निर्देशक मित्र प्रधान ले नयाँ पुस्तालाई नेपाली भाषा, संस्कार र संस्कृतिबारे ज्ञान दिने तथा यसको संरक्षणका लागि गरिने संघर्षको कथावस्तुमा फिल्म निर्माण गरेको बताए ।
फिल्मका निर्माता तथा कलाकार रोशन श्रेष्ठ ले यो फिल्म हरेक नेपालीले हेर्नैपर्ने खालको बनेको बताए । यस्तै, अभिनेता विजय बराल ले ‘यो मन त मेरो नेपाली हो’ एक फरक फिल्म भएको र यसले नेपाली भाषा, साहित्य र कलालाई जोड्ने काम गरेको उल्लेख गरे। अभिनेता विल्सन विक्रम राई ले फिल्मको कथामा मिल्ने गीतसमेत लेखेको र आफूले यो कथा नजिकबाट देखेकाले फिल्म उत्कृष्ट बनेको विश्वास व्यक्त गरे । फिल्मकी नायिका आयुषा समालले आफू विदेशमा बसेर पनि नेपाली भाषा सिक्न र जोगाउन लागिपरेको बताइन् ।
असार २७ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘यो मन त मेरो नेपाली हो’ मा रोशन श्रेष्ठ, विजय बराल, विल्सन विक्रम राई, बुद्धि तामाङ ‘हैट’, आयुषा समाल, नारायण खाती, भुपेन्द्र लिङ्देन “मन्त्री”, सुबास भन्डारी, विजय सुब्बा, बिजिता परियार, देवराज राजबन्शी, भानुभक्त सिटौला लगायतका कलाकारको अभिनय रहेको छ ।
पद्यमा ईश्वर इन्टरटेन्मेन्ट प्रा.लि. को प्रस्तुतिमा मित्र प्रधान प्रस्तुतकर्ता रहेको यस फिल्मलाई ज्ञान बहादुर प्रधान (रोशन) ले निर्माण गरेका हुन् । अमेरिकामा रहेका साहित्यकार मित्र प्रधान (नर) को निर्देशन रहेको यस फिल्ममा शिवम् अधिकारी को लेखन रहेको छ । फिल्ममा सौरभ लामाको छायांकन, देव महर्जनको द्वन्द्व निर्देशन, समिर मियाको भिएफएक्स, कविराज गहतराज र प्रमोद भण्डारीको कोरियोग्राफी, बनीश शाहको सम्पादन तथा सत्यम रानाको सीजीआई रहेको छ ।
दीपक शर्मा, विकास चौधरी र थोरम्पो ह्यङ राईको सङ्गीत रहेको फिल्ममा दीपक शर्मा, विल्सन विक्रम राई, शंकर अधिकारी घायलको शब्द तथा खैजडी गीतमा अनिश अधिकारीको शब्द सङ्कलन रहेको छ । फिल्मलाई आरआर फिल्म्स ले वितरण गर्दैछ ।