• समाचार
  • चलचित्र
    • कलिउड
    • शैली समिक्षा
    • विश्व सिनेमा
  • भिडियो
  • फोटो ग्यालरी
  • गीत/सङ्गीत
  • न्यू मिडिया
  • अन्तरवार्ता
  • मनोरन्जन
    • रंगमञ्च
    • सूचना प्रविधि
    • सौन्दर्य-फेसन
    • शैली गसिप
×
☰
    • समाचार
    • चलचित्र
      • कलिउड
      • शैली समिक्षा
      • विश्व सिनेमा
    • भिडियो
    • फोटो ग्यालरी
    • गीत/सङ्गीत
    • न्यू मिडिया
    • अन्तरवार्ता
    • मनोरन्जन
      • रंगमञ्च
      • सूचना प्रविधि
      • सौन्दर्य-फेसन
      • शैली गसिप

‘कमेडी दरबार’ र ‘कमेडी नाइट्स’: गुरु-चेलाको दोहोरीदेखि विवादसम्म

  •  कलाशैली संवाददाता
  • २०८२ असार १२, बिहीबार १३:१४ प्रकाशित
    Advertisement
    Advertisement
    • अ-
    • अ
    • अ+

    कलाशैली संवाददाता । नेपाली हास्यव्यङ्ग्यको बजारमा अहिले दुई लोकप्रिय कार्यक्रम, ‘कमेडी दरबार’ र ‘कमेडी नाइट्स विथ च्याम्पियन्स’ बीच रोचक प्रतिस्पर्धा चलिरहेको छ । कुनै बेला एउटै टिमका रूपमा ‘कमेडी क्लब विथ च्याम्पियन्स’ सञ्चालन गरेका यी दुई समूह अहिले विभाजित भएर आ-आफ्नै कार्यक्रम लिएर आएका छन्, जहाँ ढाँचा, प्रस्तुति र अतिथि चयनमा समेत एकअर्कासँग दोहोरी चलेको देखिन्छ ।

    यी दुवै कार्यक्रम भारतीय ‘कपिल शर्माको शो’ बाट प्रभावित छन् । पहिले ‘मुन्द्रेको कमेडी क्लब’ बन्द भएपछि विशाल भण्डारीले ‘कि इन्टरटेनमेन्ट’ सँग मिलेर ‘कमेडी क्लब विथ च्याम्पियन्स’ सुरु गरेका थिए । यसका केही सुरुवाती एपिसोड विशाल भण्डारीले निर्देशन गरे पनि, पछि बाँकी एपिसोडको निर्देशनको जिम्मा बिक्की अग्रवाल लाई सुम्पिएका थिए । बिक्की विशाल भण्डारीले नै निर्माण र निर्देशन गरेको ‘कमेडी च्याम्पियन सिजन २’ का रनरअप पनि थिए ।

    अहिले ‘कमेडी दरबार’ को छायांकन पहिले ‘कमेडी क्लब’ हुने ठाउँमै हुन्छ र यसको निर्देशन बिक्की अग्रवाल र श्रद्धा प्रसाईं मिलेर गर्छन् । श्रद्धा पनि विशाल भण्डारीकै कार्यक्रमहरू ‘कमेडी क्लब विथ च्याम्पियन्स’ तथा ‘कमेडी च्याम्पियन’ की सह-निर्देशक थिइन् । विशाल भण्डारीले निर्देशन गर्दै गरेको ‘कमेडी नाइट्स विथ च्याम्पियन्स’ को छायांकन भने उनकै प्रोडक्सन हाउस ‘थ्रि प्रोडक्सन्स’ को मूलपानीस्थित स्टुडियोमा हुन थालेको छ ।

    यी दुई कार्यक्रम कमेडी विधाका मात्र नभई, ढाँचामा पनि लगभग एउटै छन् । दुवै कार्यक्रम पुरानो ‘मुन्द्रेको कमेडी क्लब’ बन्द भएपछि सुरु भएका हुन् । रमाइलो कुरा, विशालको शो सुरु भएपछि जितु नेपालले फेरि आफ्नो पुरानो कार्यक्रम चलाए पनि नयाँ स्वाद पाइसकेका दर्शकले खासै रुचाएनन् ।

    अहिले टिम छुट्टिएपछि सुरु भएका ‘कमेडी दरबार’ र ‘कमेडी नाइट्स’ का एपिसोडहरूमा आएका टिप्पणीहरू हेर्ने हो भने, दर्शकले ‘कमेडी दरबार’ लाई नै बढी रुचाएको देखिन्छ । यो पनि रोचक छ कि, जितुसँगको मनमुटावपछि सुरु भएको ‘कमेडी क्लब विथ च्याम्पियन्स’ को पनि ‘कि’ सँग मनमुटाव भयो । विशाल छुट्टिए र उही कमेडियनहरूसँग सहकार्य गर्ने गरी नयाँ कार्यक्रमको घोषणा पनि गरे । तर, त्यो कार्यक्रम सुरु नहुँदै बिक्की र श्रद्धा विशालको टिमबाट छुट्टिएर नयाँ कमेडियनहरूसँग मिलेर नयाँ कार्यक्रमको घोषणा गरे, जुन विशालको भन्दा पहिला प्रसारण पनि सुरु भयो । अहिले एउटा कार्यक्रम प्राइम टिभीमा आउँछ भने अर्को हिमालयन टिभीमा । युट्युबमा भने, दुवै कार्यक्रमलाई ओ.एस.आर. रियालिटी नामक च्यानलमा हेर्न सकिन्छ ।

    विशाल र बिक्कीको कार्यक्रमको ढाँचा झट्ट हेर्दा फरक देखिए पनि, केलाएर हेर्ने हो भने दुवै लगभग उस्तै छन् । फाट्टफुट्ट राजनीतिक तथा अन्य अतिथि आउने गरे पनि, दुवै कार्यक्रम विशेषगरी फिल्म प्रचारका लागि राम्रो हब बनेका छन् । ‘स्केच कमेडी’ ले प्राथमिकता पाएका यी दुवै कार्यक्रममा, कमेडियनहरू पालैपालो आउँछन् र आफ्नो प्रस्तुति दिएर जान्छन् । दुवैले रोस्ट कमेडीलाई नै प्राथमिकता दिएको देखिन्छ । लाइभ म्युजिकका साथै कार्यक्रमका अध्यक्षहरू पनि दुवै कार्यक्रमका लगभग उस्तै कुरामा पर्छन् ।

    फरक के छ भने, ‘कमेडी नाइट्स’ मा दीपाश्री निरौला एक्लै बसेकी छिन् भने ‘कमेडी दरबार’ मा गौरी मल्लसँग मनोज गजुरेल देखिन्छन् । केही समय पहिला, ‘कमेडी दरबार’ मा गौरी मल्लसँग विजय बराल देखिन्थे, तर कार्यव्यस्तताको कारण देखाउँदै उनले कार्यक्रम छोडे । पछिल्ला केही एपिसोडहरूमा भने, मनोज गजुरेलको अनुपस्थितिमा निर्देशक प्रदीप भट्टराई अध्यक्षका रूपमा देखिएका छन् । यी दुई कार्यक्रमहरूमा एउटा ठ्याक्कै छुट्टिने खालको भिन्नता भनेको ‘कमेडी दरबार’ मा आफ्नो प्रस्तुति सकिएपछि पनि कमेडियनहरू स्टेजकै छेउमा बस्ने गर्छन् । यसले दर्शकहरूलाई, कमेडियनहरूले एकअर्काको प्रस्तुतिको बेलामा दिने प्रतिक्रिया हेर्ने राम्रै अवसर दिएको छ ।

    ढिलोचाँडो सुरु भए पनि, ‘कमेडी नाइट्स विथ च्याम्पियन्स’ र ‘कमेडी दरबार’ अहिले सँगसँगै प्रसारणमा छन् । रमाइलो कुरा के छ भने, दुवै कार्यक्रमको ढाँचा मात्र उस्तै नभई, कार्यक्रममा देखिने प्रस्तुतिदेखि बोलाइने अतिथिहरूसम्ममा पनि एकले अर्कोलाई जवाफ फर्काएर दोहोरी खेले जस्तो देखिन थालेको छ ।

    पछिल्लो समय ‘कमेडी नाइट्स’ ले आफ्नो कार्यक्रममा राजनीतिक व्यक्तित्वहरूलाई निम्त्यायो । कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरू उपस्थित भएका थिए । त्यसपछि पनि अर्को एपिसोडमा ‘कमेडी नाइट्स’ ले राजावादी नेताहरू ज्ञानेन्द्र शाही, खुश्बु ओली र स्वागत नेपाललाई निम्त्यायो । ठ्याक्कै उस्तै शैलीमा ‘कमेडी दरबार’ ले पनि अहिले राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन र नेकपा एमालेकी नेता कोमल ओलीलाई बोलाएको छ ।

    त्यस्तै, दुवै कार्यक्रममा क्यारिकेचर गर्न खप्पीस कलाकारहरू सुमन कार्की र सुन्दर खनाल बीच पनि दोहोरी चल्ने गरेको देखिन्छ । सुमनले थुप्रै पटक राजेश हमालको क्यारिकेचर गरिसकेका छन् । ‘कमेडी दरबार’ मा पनि, रेखा थापा उपस्थित एक एपिसोडमा, ठ्याक्कै सुमन कार्कीकै राजेश हमालको शैलीमा सुन्दर देखिए । सुन्दरले लगाएको राजेश हमालको लुगा र क्याप पनि ठ्याक्कै सुमन कार्कीसँग मिलेको थियो । त्यति मात्र नभएर, दुवैले आ-आफ्नो कार्यक्रममा पालैपालो पत्रकार ऋषि धमलाको पनि नक्कल गरिसकेका छन् । केही समयअगाडि सुमनले नै गरेको दुर्गा प्रसाईंको नक्कल पनि ‘कमेडी दरबार’ मा देखिएको थियो । हुन त, दुवै कार्यक्रमले ‘स्केच कमेडी’ लाई प्राथमिकता दिने भएकाले, चर्चित पात्रहरूको क्यारिकेचर दोहोरिनु नौलो कुरा त होइन । तर, प्रधानमन्त्री केपी ओलीदेखि प्रकाश सुवेदीसम्मको क्यारिकेचर दुवै कार्यक्रममा पटक-पटक र त्यो पनि एक-अर्काको एपिसोडको नजिक-नजिक नै देखिनु चाहिँ संयोग मात्र नहुन सक्छ ।

    कार्यक्रमहरू जति लोकप्रिय छन्, त्यति नै विवादसँग नजिक पनि छन् । केही समयअघि मात्र प्रधानमन्त्री र अन्य नेताहरूको नक्कल गरेको एपिसोडपछि ‘कमेडी नाइट्स’ का निर्देशक विशाल भण्डारीलाई सिंहदरबार परिसरमा बोलाएको चर्चा चलेको थियो । तर, उनले त्यो कुरालाई सामाजिक सञ्जालमार्फत विज्ञप्ति निकालेर खण्डन गरिसकेका छन् ।

    तर, दुवै कार्यक्रमहरूमाथि राजनीतिक प्रस्तुतिमा मात्र नभएर, अन्य कुराहरूका लागि पनि औंला ठडिने गरेको छ । दुवै कार्यक्रमले विशेषगरी द्विअर्थी जोकहरूलाई बढावा दिने गरेको भन्ने आरोप पनि झेल्ने गरेका छन् । यिनै कारणले पनि, राष्ट्रिय टेलिभिजनमार्फत प्रसारण हुने यी दुवै कार्यक्रमहरूलाई परिवारसँग बसेर हेर्न नमिल्ने कार्यक्रम भन्ने खालका टिप्पणीहरू समेत मिल्ने गरेका छन् । त्यसको तात्तातो उदाहरण, टिकटक स्टार इष्टु कार्की अतिथि भएर आएको ‘कमेडी नाइट्स’ को एपिसोडलाई पनि मान्न सकिन्छ । उनी केही समयअगाडि पूर्व घुम्न जाँदा राखेको फोटोमा लगाएको पहिरनको कारण चर्चा र परिचर्चाको शिकार भएकी थिइन् । धेरैले उनको त्यो पहिरनलाई छाडा समेत भनेका थिए । इष्टु आएको त्यो पुरै एपिसोड, फोटोमा उनले लगाएको कपडा र देखिएको अङ्गमै केन्द्रित थियो ।

    यो बाहेक, ‘कमेडी दरबार’ मा गज्जबको प्रस्तुति दिँदै चर्चामा रहेका पवन खतिवडा र बि.टी. कान्छा ले गरेको ‘नर्स र बिरामी’ को जोकले पनि छाडापनको रेखा पार गर्नै लागेको चर्चा पनि चलेको थियो । उक्त जोकमा, गौरी मल्ल आफैंले समेत मुख बिगारेकी थिइन् र हँसिलो पारा मै केही कुराले पवनलाई हान्न खोजेजस्तै गरेकी थिइन् । पवनको प्रस्तुति लगभग सधैँ द्विअर्थी लाग्ने खालका नै हुने गर्छन् । त्यसै कार्यक्रममा, पटक-पटक महिला पात्र बनेर आउने पुरुष कलाकारहरूले पनि आफ्नो शरीरको अगाडि र पछाडिका भागलाई चाहिनेभन्दा बढी नै भद्दा देखाउने र महिला बनेर आपत्तिजनक हाउभाउ र कुराहरू गर्ने पनि गरेका छन् । उता, अर्को उदाहरणस्वरूप, ‘कमेडी नाइट्स’ मा सुमन कोइराला ले परीक्षा लिम्बूसँग गरेको भद्दा मजाक पनि टिकटक तथा अन्य ठाउँहरूमा भाइरल छन् । कार्यक्रममा दीपाश्री निरौला लक्षित भद्दा खालका मजाकहरू पनि प्रशस्तै हुने गर्छन् ।

    उसो त यी दुवै कार्यक्रमहरूलाई छाडा र द्विअर्थी भन्ने मात्र नभई, कार्यक्रममा बोलाइएका अतिथिहरूलाई हेपिएको भन्ने आरोप पनि लाग्ने गरेका छन् । निश्चल बस्नेतको छालाको रङलाई लिएर होस् वा केही कलाकारहरूको क्षमता वा पारिश्रमिकलाई लिएर होस्, मजाक अलि बढी नै व्यक्तिगत भएको टिप्पणी प्रशस्तै पाइन्छन् । सधैं आफ्नो कार्यक्रममा बोलाएर अरूलाई चिप्लाउने प्रकाश सुवेदीको पनि, कार्यक्रममा बेइज्जत नै भएको भन्नेहरूको पनि कमी छैन ।

    प्रतिस्पर्धाले जबसम्म राम्रो नतिजा निकाल्छ, त्यसलाई स्वस्थकर नै मान्न मिल्छ । कार्यक्रम होस्, फिल्म होस् वा अन्य केही चीज, प्रतिस्पर्धाले समग्र रूपमा गुणस्तरलाई अभिवृद्धि गराउँदछ भने, त्यो कुरा राम्रै हो । तर, बजारमा बिक्नुलाई नै गन्तव्य ठान्ने हो भने र एउटाभन्दा अर्को बढी चल्नुपर्छ भन्ने ध्येयले नै कामहरू गर्दै जाने हो भने, ध्यान बिस्तारै गुणस्तरमा भन्दा पनि बिकाउ चिजहरूमा बढ्दै जान्छ ।

    देशका मात्र नभएर विदेशका, अझ विशेषगरी पश्चिमी समाजका कमेडी कन्टेन्टहरूसम्म पनि पहुँच बढ्न थालेपछि, नेपालको कमेडी क्षेत्रको स्तर पनि पक्कै केही फरक र सुधारउन्मुख छ । त्यो कुरालाई नकार्न मिल्दैन । तर, बाहिरी चिजहरूको जति प्रभाव बढ्दै जान्छ, आफ्नै सामाजिक परिवेश र मूल्य मान्यताका कुराहरू चाहिँ बिस्तारै छुट्दै जानसक्ने खतरा पनि बढ्दै जान्छ । यी दुवै कार्यक्रम र यसमा आवद्ध सबैको ध्यान पनि बिकाउ सामग्रीहरूमा मात्र नभएर, स्वस्थकर प्रतिस्पर्धा र गुणस्तर अभिवृद्धि मै हुनुपर्छ ।

    Post Views: 166
    • Bikki Agrawal
    • Bishal Bhandari
    • Comedy Champion
    • Comedy Nights
    • Kala Saili
    • Kala Saili News
    प्रकाशित मिति: २०८२ असार १२, बिहीबार १३:१४
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    ‘त्यो मिठो जोवन’ भन्दै नाचे वर्षा र केदार
    ‘कोशेढुंगा’ को छायांकन सम्पन्न
    विल्सनको निर्देशनमा फिल्म ‘मैझारो’ बन्ने, धीरज अनुबन्धित
    ताजा अपडेट
    • १. महेश र अस्मिताको ‘सोलफुल यु.एस.ए यात्रा’ घोषणा

    • २. ‘त्यो मिठो जोवन’ भन्दै नाचे वर्षा र केदार

    • ३. ‘कोशेढुंगा’ को छायांकन सम्पन्न

    • ४. विल्सनको निर्देशनमा फिल्म ‘मैझारो’ बन्ने, धीरज अनुबन्धित

    • ५. ‘झुम झुम झुम्किका’ मा पल र बेनिशा

    चर्चित
    • १. नृत्य मञ्चदेखि सगरमाथासम्म छिरिङ (फोटोफिचर)

    • २. सज्जनको ‘बेहुली’ बनिन् दिव्या

    • ३. चलचित्रलाई संस्कृति मन्त्रालय अन्तर्गत राख्न र सेन्सरकाे सट्टा प्रमाणीकरण गर्न माग

    • ४. ‘भाइटीका’ मा विपिन ‘दाइ’ बन्ने, पारिश्रमिक छोडेर मुनाफाकाे शेयरमा

    • ५. ‘माग्ने राजा’ मा यसकारण माग्नेको लवज र थेगो प्रयोग गरियो

    हाम्रो बारेमा

    कम्पनी नम्बर : ०२१२ [२०७९]
    सूचना विभाग : ००१० [२०७९/०८०]
    प्रेस काउन्सिल : ००११ [२०७९/०८०]

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : अनामनगर, काठमाडौं, नेपाल
    Email : info@kalasaili.com

    हाम्रो टीम

    सम्पादक/सञ्चालक :
    प्रबन्ध निर्देशक :
    बजार प्रबन्धक :
    सल्लाहकार :
    समाचार संयोजक :

    सामाजिक संजाल

    © 2025 Kalasaili . All Rights Reserved.