कलाशैली संवाददाता । प्राइम भिडियोमा रिलिज भएको लोकप्रिय वेब सिरिज ‘पञ्चायत सिजन ४’ ले दर्शकबाट मिश्रित प्रतिक्रिया पाएको छ । केही दर्शकले यसलाई मन पराए पनि, धेरैले यसमा कमेडी र मौलिकताको कमी महसुस गरेका छन् । चुनावी माहोलको कथावस्तुमा आधारित यस सिजनको अन्तिम एपिसोडलाई सबैभन्दा कमजोर मानिएको छ, जसको मूल्याङ्कन अघिल्ला सिजनको तुलनामा उल्लेखनीय रूपमा घटेको छ, जसले दर्शकलाई निराश बनाएको छ ।
‘पञ्चायत सिजन ४’ ले अघिल्ला सिजनको तुलनामा सबैभन्दा कम रेटिङ प्राप्त गरेको छ । आईएमडीबी (IMDb) का अनुसार, सिजन १ को अन्तिम एपिसोड ‘जब जागो तभी सवेरा’ लाई ८.८, सिजन २ को ‘परिवार’ लाई ९.६ र सिजन ३ को ‘हमला’ लाई ९.० रेटिङ दिइएको थियो । तर, सिजन ४ को अन्तिम एपिसोडलाई मात्र ८.४ रेटिङ प्राप्त भएको छ ।
सामाजिक सञ्जालमा धेरै दर्शकले सिरिजको कथा अब पहिले जस्तो रमाइलो नलागेको, राजनीतिक प्रभाव बढेको र कमेडी पक्ष हराउँदै गएको भन्दै निराशा व्यक्त गरेका छन् । उनीहरूले सिरिजले आफ्नो मौलिकता गुमाउँदै गएकोमा चिन्ता व्यक्त गरेका छन् ।
यस सिजनमा फुलेरा गाउँको चुनावी माहोललाई देखाइएको छ, जहाँ बनराकस चुनाव जित्छन् र मंजू देवी पराजित हुन्छिन् । जितेन्द्र कुमार सचिवको भूमिकामा पुनः देखा परेका छन् भने नीना गुप्ता, रघुबीर यादव, फैजल मलिक, चन्दन राय, दुर्गेश कुमार लगायतका कलाकारहरूले पनि यस सिजनमा अभिनय गरेका छन् ।





