कलाशैली संवाददाता । निर्देशक कृषा चौलागाईं को तेस्रो फिल्म ‘जहाजैमा’ मा चर्चित कलाकार केदार घिमिरे (‘माग्ने बुढा’ उपनामले परिचित) अनुबन्धित भएका छन् । आज फिल्मको निर्माण टिमले केदार घिमिरेसँग कागजी सम्झौता गरेको हो ।
कृषा र केदारले फिल्ममा पहिलो पटक सहकार्य गर्न लागेका हुन् । केदार घिमिरे अनुबन्धित भएपछि कृषाले भनिन्, ‘केदारजी अहिलेका सर्वाधिक रुचाइएका कलाकार हुनुहुन्छ । हाम्रो फिल्ममा उहाँको निकै नै महत्त्वपूर्ण भूमिका छ । उहाँलाई फिल्ममा भित्राउन पाउँदा निकै नै उत्साहित छौँ ।’
फिल्मको हाल धमाधम प्रि-प्रोडक्सनको काम चलिरहेको छ। फिल्मको प्रि-प्रोडक्सनमा साथ दिन यसका निर्माता उज्ज्वल गुरागाइँ जापानबाट नेपाल आएका छन् । आज कलाकार केदार घिमिरेसँग उज्ज्वलले कागजी सम्झौता गरेका हुन् ।
‘जहाजैमा’ मा मल्टिस्टारर कलाकारहरू रहनेछन् । अन्य कलाकारहरूसँग पनि कुराकानी अगाडि बढेको तर फाइनल भइनसकेको निर्माण पक्षले बताएको छ । यो फिल्ममा यसअघि नै जापानी नायिका रुजेल इचिमिया फाइनल भइसकेकी छिन् । फिल्मले नेपाल, जापान र फिलिपिन्सको कथा भन्नेछ । यूएनए प्रोडक्सन को ब्यानरमा निर्माण हुन लागेको फिल्मको छायांकन भदौबाट सुरु हुनेछ । फिल्मलाई नेपाल, जापान र फिलिपिन्समा खिचिने तयारी गरिएको छ ।