कलाशैली संवाददाता । गायक दुर्गेश थापा को चर्चित गीत ‘दुश्मन हेरेको हेर्यै’ ले युट्युबमा १० करोड भ्यूज (१०० मिलियन) को आँकडा पार गरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले उनलाई बधाई दिएका छन् । आइतबार साँझ प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमार्फत दुर्गेश थापालाई बधाई दिँदै यस सफलतालाई नयाँ पुस्ताको संगीत रुचिसँग जोडेका छन् ।
प्रधानमन्त्री ओलीले आफ्नो सामाजिक सञ्जाल पोस्टमा लेखेका छन्, ‘नयाँ पुस्ताले बेग्लै स्वादका गीतसङ्गीतमा रुचि देखाउन थालेको ‘दुश्मन हेरेको हेर्यै’ गीतबाट थाहा हुन्छ । दुर्गेश थापाको यो गीत सुन्नेको संख्या पाँच महिनामा १०० मिलियन (१० करोड) पुगेको छ। गीतका सर्जक दुर्गेश थापालाई बधाई ।’
प्रधानमन्त्रीको बधाई सन्देशलाई दुर्गेश थापाले पनि आफ्नो सामाजिक सञ्जालमा सेयर गर्दै यसले आफ्नो सिर्जनात्मक यात्रामा ऐतिहासिक प्रेरणा थपिएको बताएका छन् । पछिल्लो समय प्रधानमन्त्री ओलीको दल नेकपा एमालेले आयोजना गर्ने कार्यक्रममा पनि नयाँ पुस्ताका कलाकारहरूले प्रस्तुति दिन थालेको देखिएको छ । सरकारले हालै दरबारमार्गमा गरेको कार्यक्रममा पनि नयाँ पुस्ताका ब्यान्ड र कलाकारहरूले प्रस्तुति दिएका थिए, जसले युवा पुस्तासँग राजनीतिक दलहरूको बढ्दो सामीप्यलाई दर्शाउँछ ।