कलाशैली संवाददाता । नेपाली फिल्म उद्योगलाई समयसापेक्ष बनाउने लक्ष्यका साथ ल्याइएको ‘चलचित्र विधेयक, २०८१’ संसदीय प्रक्रियामा अघि बढेको छ । राष्ट्रिय सभामा आज बिहान ११ बजे बस्ने बैठकमा सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले ‘चलचित्र विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम छ ।
यो विधेयक मन्त्री गुरुङले २०८२ साल वैशाख १४ गते राष्ट्रिय सभामा दर्ता गरेका थिए । जेठ ६ गते यसमाथि सैद्धान्तिक छलफल सम्पन्न भइसकेको छ । अब ‘विचार गरियोस्’ भन्ने प्रस्तावमाथि छलफल भएपछि सांसदहरूले संशोधन प्रस्ताव दर्ता गर्ने समय पाउनेछन् । राष्ट्रिय सभा नियमावली अनुसार, सांसदहरूलाई विधेयकमाथि संशोधनका लागि ७२ घण्टाको समय दिइनेछ । सांसदहरूको संशोधन र प्रस्तावित विधेयक एकै ठाउँ राखेर दफावार छलफलपछि विधेयक अगाडि बढ्नेछ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका अनुसार, विक्रम संवत् २०२६ सालमा बनेको पुरानो ‘चलचित्र ऐन’ लाई समयसापेक्ष परिमार्जन गर्न यो विधेयक ल्याइएको हो । विधेयकमा उल्लेख भएअनुसार, यसको मुख्य उद्देश्य चलचित्र ऐनलाई समावेशी, सङ्घीय संरचनाअनुरूप र नयाँ प्रविधिसँग मिल्ने गरी बनाउनु हो ।
अब यो विधेयकमाथि दफावार छलफल सभामै वा संसदीय विषयगत समितिमा हुनेछ । दफावार छलफलपछि विधेयक पारित गर्ने प्रक्रियामा जानेछ । राष्ट्रिय सभाले प्रक्रिया पूरा गरेर विधेयक पारित गरेपछि प्रतिनिधि सभामा जानेछ । प्रतिनिधि सभाले पारित गरेपछि पुनः राष्ट्रिय सभामा फर्किनेछ। राष्ट्रिय सभाले प्रतिनिधि सभामा भएको संशोधन स्वीकार गरेको खण्डमा विधेयक सभाध्यक्ष हुँदै राष्ट्रपतिकहाँ पुग्नेछ । राष्ट्रपतिले प्रमाणीकरण गरेपछि यो विधेयक ऐनमा बदलिएर कार्यान्वयनमा आउनेछ ।