कलाशैली संवाददाता । निर्देशक एकता पौडेलको डेब्यु फिल्म ‘हर्ष’ को टाइटल भिडियो र प्रदर्शन मिति घोषणा गरिएको छ । सोमबार सार्वजनिक गरिएको टाइटल भिडियोअनुसार यो फिल्म आगामी मङ्सिर १२ गते बाट प्रदर्शनमा आउनेछ । निर्देशक एकता पौडेलले टाइटल भिडियोको सुरुवातमा नै यो फिल्म स्वर्गीय निर्देशक शिव रेग्मी प्रति समर्पित रहेको उल्लेख गरेकी छिन् । निर्देशक पौडेल स्वर्गीय निर्देशक शिव रेग्मीकी भान्जी हुन् । उनले न्यूयोर्क फिल्म एकेडेमीमा फिल्म मेकिङ अध्ययन गरेकी छन् भने आमसञ्चारमा स्नातक र व्यवस्थापन तथा नेतृत्व विषयमा स्नातकोत्तर गरेकी छिन् । यसअघि निर्देशक पौडेलले केही छोटा फिल्महरू समेत निर्माण गरिसकेकी छन् ।
सम्पूर्ण छायांकन चितवनमा नै गरिएको यस फिल्मको अहिले पोस्ट-प्रोडक्सनको काम धमाधम चलिरहेको छ । निर्देशक पौडेलले आफू र आफ्नो टिमले दर्शकलाई उत्कृष्ट फिल्म दिने प्रयास गरिरहेको बताएकी छिन् । फिल्ममा खगेन्द्र लामिछाने, वर्षा राउत, नीर शाह, सन्तोष पन्त, शर्मिला मल्ल, माओत्से गुरुङ, विशाल पहाडी, निमा पाण्डे, लुनिभा तुलाधर, अंशु महर्जन, रेनु प्रधान, सुवर्ण थापा, श्रृष्टि महर्जन तथा संगीता नापित को अभिनय रहेको छ ।
अष्टलक्ष्मी प्रोडक्सन्स र ई-प्राइम मुभिजको ब्यानरमा निर्माण भएको यस फिल्मको कथा स्वयं निर्देशक पौडेलले लेखेकी हुन् । पारिवारिक सामाजिक कथा पस्किने यो फिल्ममा आलोक शुक्लाको छायांकन, समीर/हिमाल, वसन्त सापकोटा तथा एलिश कार्कीको सङ्गीत, लोकेश बज्राचार्यको सम्पादन तथा सुनील क्षेत्री र निर्देशक पौडेलको कोरियोग्राफी रहेको छ ।
फिल्मका निर्माताहरू प्रशन्न पौडेल र विकास पौडेल हुन् भने कार्यकारी निर्मातामा हिक्मत चोखल रहेका छन् । फिल्ममा स्वर्गीय शिव रेग्मी, डाक्टर कृष्णहरि बराल, पवित्रा घिमिरे, नीरकमल खड्काको शब्द रचना, ईश्वर घिमिरे प्रोडक्सन म्यानेजर, कुलदीप अधिकारी मुख्य सहायक निर्देशक रहेका छन् ।