कलाशैली संवाददाता । गत फागुन २९ गतेदेखि प्रदर्शनमा आएको नेपाली फिल्म ‘अञ्जिला’ले लगातार प्रदर्शनको १०० दिन पूरा गर्ने यात्रामा छ । राष्ट्रिय महिला फुटबल टिमकी कप्तान अञ्जिला तुम्बापो सुब्बाको जीवनीलाई प्रस्तुत गरिएको फिल्म सामाखुसीस्थित क्युएफएक्स सिटिसक्वायर मलमा प्रदर्शनको ९१ दिन पूरा गरेको हो ।
फिल्मले सय दिन पूरा गर्न लागेको अवसरमा क्युएफएक्स सिनेमाजले दर्शकका लागि सहुलियत दरमा फिल्म प्रदर्शन गर्ने भएको छ । फिल्मका निर्माता प्रेमकुमार श्रेष्ठका अनुसार, क्युएफएक्सले आफ्ना केही हलमा १०० रुपैयाँको टिकट दरमा फिल्म देखाउने छ।
‘दर्शकको निरन्तर मायाले गर्दा फिल्मले ऐतिहासिक प्रदर्शन गरिरहेको छ । सय दिनको अवसरमा क्युएफएक्सले सहुलियत दरमा फिल्म देखाउने प्रस्ताव गर्नुभएको छ, जसमा हामीले समर्थन गरेका छौँ । हाम्रो उद्देश्य यो फिल्म हेर्न चाहने सबै दर्शकसम्म पुगोस् भन्ने हो’, निर्माता श्रेष्ठले भने ।
मिलन चाम्स निर्देशित यो फिल्म वर्ष २०८१ को सर्वाधिक कमाइ गर्ने उत्कृष्ट पाँच फिल्मभित्र पर्न सफल भएको थियो । फिल्ममा कप्तान सुब्बा स्वयं मुख्य भूमिकामा छिन् । साथै, दयाहाङ राई, सिर्जना सुब्बा, विजय बराल, माओत्से गुरुङ, प्रेमकुमार श्रेष्ठलगायतको अभिनय रहेको छ ।