कलाशैली संवाददाता । दिनेश राउतद्वारा निर्देशित फिल्म ‘महाभोज’को पोखरामा सोमबार प्रिभ्यू सम्पन्न भएको छ । उक्त शोमा फिल्मीका प्रमुख कलाकारहरू आर्यन सिग्देल, खगेन्द्र लामिछाने, अञ्जना बराइली, मलिका महत, बुद्धि तामाङ, निर्देशक दिनेश राउत र निर्माता हिमाल कडेरियाको उपस्थिति थियो।
पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य, प्रमुख जिल्ला अधिकारी वर्णदेवी शर्मा, केही सहकारी पीडित, विभिन्न क्षेत्रका व्यक्तित्व र पत्रकारहरूले दर्शकको रूपमा फिल्म हेरेका थिए । फिल्म हेरेपछि दर्शकले कथा, प्रस्तुति र कलाकारहरूको अभिनयको खुलेर प्रशंसा गरे। यद्यपि, प्रशंसासँगै दर्शकमा आक्रोश पनि देखियो ।
फिल्मको परिवेशमा डुबेका दर्शकले चर्को स्वरमा आक्रोश व्यक्त गर्दै ‘महाभोज’ले विगतमा ‘आगो’ फिल्मले जस्तै विद्रोह जन्माउन सक्ने बताए । उनीहरूले फिल्ममा सत्ताधारीलाई चुनौती दिने शक्ति रहेको विश्वास व्यक्त गरे । केही दर्शकले दबाबमा फिल्मका दृश्य काटिएमा त्यसको विरोधमा उभिने चेतावनी दिए ।
‘महाभोज’ले सहकारी पीडितको कथालाई गहिराइमा प्रस्तुत गरेको प्रतिक्रिया काठमाडौंको प्रिभ्यू शोबाट पनि प्राप्त भएको थियो, जहाँ दर्शकले सकारात्मक प्रतिक्रिया दिए। साथै, दर्शकले फिल्म मनोरञ्जनात्मक रहेको बताए ।
क्लकवर्क क्रिएसन र पिक्चर फ्रेमको प्रस्तुतिमा निर्मित यो फिल्मका निर्माता हिमाल कडेरिया हुन् । फिल्ममा दयाहाङ राई, आर्यन सिग्देल, खगेन्द्र लामिछाने, अञ्जना बराइली, मलिका महत, गौमाया गुरुङ, वसुन्धरा भुसाल, मोहन निरौला लगायतका कलाकारको अभिनय छ । ‘महाभोज’ यही जेठ ३० गते देशभर प्रदर्शनमा आउँदैछ। पोखराको सफल प्रिमियरपछि बुटवल, विराटनगर र धरानमा पनि क्रमशः प्रिमियर हुँदैछ ।





