कलाशैली संवाददाता । ‘इन्टरनेसनल नेपाली फिल्म अवार्ड (इन्फा)’ २०२५ को उत्कृष्ट पाँचमा मनोनयन भएका फिल्मकर्मीहरूलाई प्रमाणपत्र वितरण गरिएको छ । काठमाडौंको होटल र्याडिसनमा सोमबार आयोजित कार्यक्रममा आयोजकले आगामी भाद्र २८ (सेप्टेम्बर १३) मा बेलायतको लण्डनमा हुने अवार्ड समारोहका लागि मनोनीतहरूलाई प्रमाणपत्र प्रदान गरे ।
विसं २०८१ असार मसान्तपछि प्रदर्शनमा आएका फिल्महरूमध्येबाट जुरी संयोजक गौरी मल्ल, सदस्यहरू रमेश बुढाथोकी र करुण थापाको निर्णायक मण्डलले छनोट गरेको उत्कृष्ट पाँचको नतिजा निष्पक्ष, पारदर्शी र पूर्ण व्यावसायिक रहेको अवार्डका मुख्य संयोजक मनीष कार्कीले बताए ।
उनले भने, ‘इन्फा अवार्डको दोस्रो संस्करणले नेपाली कला, साहित्य, भाषा, र संस्कृतिलाई विश्वमाझ प्रवर्द्धन गर्दै नेपाली फिल्म अवार्डको स्तर उकास्ने लक्ष्य राखेको छ ।’ कार्यक्रममा वरिष्ठ कलाकारहरू नीर शाह, कृष्ण मल्ल, जीतु नेपाल, दीपाश्री निरौला, नीता ढुंगाना, वर्षा सिवाकोटी, पुष्प खड्कालगायतले ‘इन्फा अवार्ड २०२५’ अघिल्लो संस्करणभन्दा भव्य र प्रतिष्ठित हुने विश्वास व्यक्त गरे ।
मनोनयनमा परेका कलाकारहरूले आयोजकप्रति कृतज्ञता व्यक्त गर्दै अवार्डले कला र फिल्म क्षेत्रको सम्मान गरेको बताए । इन्फा नेपालका अध्यक्ष सुनिल श्रेष्ठले इन्फालाई विश्वसनीय र कलाको सम्मान गर्ने अवार्डका रूपमा स्थापित गर्ने प्रतिबद्धता जाहेर गरे ।
जुरी संयोजक गौरी मल्लले इन्फा अवार्डले कलाकारहरूमा ऊर्जा थप्ने काम गरेको बताइन् । १७ विधामा उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक भए पनि अवार्ड कुल २६ विधामा वितरण हुनेछ । शर्मिला मल्ललाई लाइफटाइम अचिभमेन्ट अवार्डसहित जुरी अवार्ड, पपुलर अवार्ड, पर्फमर अफ द इयर र पब्लिक च्वाइस अवार्ड प्रदान गरिनेछ ।
इन्फा इभेन्ट्स युके र इन्फा नेपालको आयोजना तथा मनु मिडियाको सहकार्यमा लण्डनको ग्रिनफोर्ड हलमा भाद्र २८ मा अवार्ड समारोह हुनेछ । कार्यक्रममा गत वर्षको अवार्डको भिडियो र इन्फा इभेन्ट्स युकेका सीईओ उमेश मोक्तान, निर्देशकहरू टंक भट्टराई, राज पाण्डे र आशिष पन्तको शुभकामना सन्देश पनि प्रदर्शन गरियो ।





