कलाशैली संवाददाता । बलिउडदेखि साउथसम्म आफ्नो स्टारडम फैलाएका सुपरस्टार रजनीकान्त भारतीय फिल्म उद्योगमा दशकौँदेखि राज गरिरहेका छन् । ७४ वर्षको उमेरमा पनि उनको क्रेजमा कुनै कमी आएको छैन । ‘जेलर’ र ‘वेट्टायन’ पछि, उनी अब ‘कुली’ मार्फत ठूलो पर्दामा आउँदैछन् ।
रजनीकान्तले ‘कुली’ फिल्मका लागि लिएको पारिश्रमिकले सबैलाई चकित पारेको छ । मनी कन्ट्रोलको रिपोर्टअनुसार, लोकेश कनागराज निर्देशित फिल्म ‘कुली’ महँगा फिल्ममध्ये एक हो । यस फिल्मको कूल बजेट ४०० करोड भारतीय रुपैयाँ रहेको छ, जसमध्ये रजनीकान्त एक्लैले २६० देखि २८० करोड भारु पारिश्रमिक लिएका छन् । यसका साथै, उनले फिल्मको नाफामा पनि केही हिस्सा पाउनेछन् । यो पारिश्रमिक आमिर खान र ज्याकी चेनभन्दा पनि बढी भएकाले रजनीकान्त एसियाकै सबैभन्दा महँगा अभिनेता बनेको भारतीय मिडियाहरूले दाबी गरेका छन् ।
सन् २०१० मा ‘रोबोट’ फिल्म गरेपछि रजनीकान्त एसियाका महँगा अभिनेतामध्ये एक बनेका थिए, तर पछि आमिर खानले उनलाई पछि पारेका थिए । अब भने रजनीकान्तले फेरि इतिहास रचेका छन् । कलानिधि मारनले निर्माण गरिरहेको ‘कुली’ को कूल बजेट ४०० करोड भारु रहेको छ । यसमा, निर्देशक लोकेश कनागराजले ६० करोड भारु लिएका छन् भने अर्का मुख्य भूमिकामा रहेका नागार्जुनले करिब ३५ करोड पारिश्रमिक लिएका छन् । फिल्ममा आमिर खानको पनि केमियो रहेको बताइएको छ । उनको केही मिनेटको दृश्यका लागि पनि २५ देखि ३० करोड भारु पारिश्रमिक दिइएको छ ।
त्यसैगरी, श्रुति हसन, सत्यराज र उपेन्द्र रावलाई पनि बजार मूल्यअनुसारको शुल्क दिइएको छ । ‘कुली’ १४ अगस्ट २०२५ मा थिएटरहरूमा रिलिज हुनेछ ।